नेपालगन्जः नेपाली महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा देखिइरहेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार पाठेघरको मुखको नयाँ बिरामी देखिने दर १६.४ प्रतिशत प्रतिलाख रहेको छ ।
यसबाट मृत्यु हुनेको दर ११.१ प्रतिशत छ । सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ सेवा दिँदै आएको छ । ‘पाठेघरको मुखको क्यान्सर रोकथाम निर्देशिका २०७९’मा भीआईए, एचपीभी टेष्ट, प्याप स्मेयर र एलबीसी विधिबाट निःशुल्क स्क्रिनिङ गरिने उल्लेख छ ।
सामान्य अवस्थाका महिलाको ३० देखि ४९ वर्षमा भीआईए र ३० वर्षभन्दा माथिका महिलाको एचपीभीमार्फत् स्क्रिनिङ गराउने निर्देशिकामा उल्लेख छ । यस्तै, एचआईभी संक्रमित महिलाहरूले २५ देखि ४९ वर्षमा भीआईए र २५ वर्षदेखि माथि एचपीभी स्क्रिनिङ गराउनुपर्ने हुन्छ ।
सामान्य अवस्थाका महिलाले तीन वर्षको अन्तरालमा एकपटक र एचआईभी संक्रमित महिलाले एक एक वर्षमा भीआईए परीक्षण गराउनुपर्ने हुन्छ ।
एचपीभी भने सामान्य अवस्थामा पाँच वर्षको फरकमा र एचआईभी संक्रमित महिलाले प्रत्येक तीन वर्षमा गराउनुपर्ने निर्देशिकामा उल्लेख छ । हाल सरकारले एचपीभीलाई नै एचपीभी डीएनएकोे रूपमा निःशुल्क परीक्षण सेवा दिँदै आएको छ ।
यी हुन् परीक्षण हुने अस्पताल तथा प्रयोगशाला
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु , काठमाडौं
परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं
निजामती कर्मचारी अस्पताल, मीनभवन, काठमाडौं
वीर अस्पताल, महाबौद्ध काठमाडौं
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाहरू
विराटनगर,मोरङ
जनकपुर, धनुषा
धुलिखेल , काम्रे
कास्की, पोखरा
बुटवल, रुपन्देही
विरेन्द्रनगर, सुर्खेत
धनगढी, कैलाली