डा. सृष्टिलाई ठूलो बज्रपात, आँखै अगाडि डा.श्रीमान्, छोराछोरी र आमाबुबा गुमाउँदा विक्षिप्त

    • स्वास्थ्य पेज

  • २९ पुष २०८०, आईतवार

नेपालगन्जः क्यान्सर रोग विशेषज्ञ डा. सुष्टि तिवारी गौतमलाई ठूलो वज्रपात परेको छ ।आफ्नो आँखै अगाडि भएको दुर्घटनामा श्रीमान्, छोराछोरी र आमा–बुबालाई एकै छिनमा गुमाउनुपर्दा डा सृष्टि मूर्च्छित अवस्थामा रहनु भएको छ । डा. महेशकुमार गौतमले विदेश जाने अवसर त्यागेर बालबालिकाको उपचार गर्न आफैँले अस्पताल खोल्नु भएको थियो ।

डा.महेशकुमार गौतम शनिबार छोराछोरी, श्रीमती र सासू–ससुरा लिएर मकवानपुरको चित्लाङतर्फ जाँदै हुनुहुन्थ्यो । छोराछोरीको स्कुल बिदा र आफूहरूको पनि शनिबार बिदा हुने भएकाले उहाँ बिदा मनाउन चित्लाङ जान लाजिम्पाटबाट निस्किनु भएको थियो। ३–०१–२३ च ६९८५ नम्बरको निजी कार आफैँले हाँकिरहेका उहाँ गन्तव्यमा पुग्न सक्नु भएन् ।

थानकोट हुँदै हिमचुली सेतो पहरा भन्ने ठाउँमा पुग्दा करिब २ बजे उकालोमा कारले तानेन । बाटो अप्ठ्यारो र उकालो पनि भएकाले डा. गौतमकी श्रीमती डा सृष्टि तिवारी गौतम झर्नुभएको थियो । पिकअप लिनका लागि केही पछाडि आउँदै थियो, गाडीको ब्रेक नै लागेन । उहाँले कारले सडक डिल छाड्न थालेपछि ढुंगाको ओत लगाउन खोज्नुभयो, तर असफल हुनुभयो । हेर्दाहेर्दै कार भिरबाट तल खस्यो । अब चिच्याउनुबाहेक उहाँसँग केही उपाय थिएन । कार ढुंगा र चट्टानमा बजारिँदै आँखाले नै ठम्याउन नसक्ने ठाउँसम्म खस्यो ।

आँखैअगाडि जीवनका सबैभन्दा प्रिय व्यक्ति गुमाउनुभयो । कार सडकबाट ६ सय मिटर तल खसेको थियो । कार दुर्घटनाका क्रममा ३८ वर्षीय डा. गौतमसहित उनीका छोरा चार वर्षीय प्रियांश, ६ वर्षीय छोरी स्मारिका, ६७ वर्षीय ससुरा ओमकारनिधि तिवारी र सासू कल्पना तिवारीको ज्यान गयो । डा. गौतम र उहाँकी श्रीमती सृष्टि मिलेर लाजिम्पाटस्थित आफ्नै घरमा नेसनल आस्मा एलर्जी सेन्टर सञ्चालन गर्दै आइरहनु भएको थियो ।

बालबालिकामा हुने घाँटीलगायत शरीरमा हुने एलर्जीको उपचारका लागि डा.गौतम अब्बल मानिनुहुन्थ्यो। उहाँले आफ्नै घरमा अस्पताल सञ्चालन गरेर कैयौँ बालबालिकाको उपचार गर्दै आइरहनु भएको थियो । डा.गौतम आफ्नो निजी अस्पतालबाहेक महाराजगन्जमा रहेको इन्टरनेसनल फ्रेन्डसिप चिल्ड्रेन अस्पतालमा काम गर्नुहुन्थ्यो ।

उहाँकी श्रीमती डा सृष्टिले ललितपुर हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा काम गर्दै आइहनु भएको छ । पारिवारिक रिफ्रेसमेन्टका लागि चित्लाङ जाने क्रममा छोरी, जीवनसाथी र जन्मदिने बुबाआमा नै गुमाउँदा उहाँ विक्षिप्त हुनुहुन्छ ।

  • २९ पुष २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech