वीर अस्पतालमा तालाबन्दी गरे आफैँ खोल्ने स्वास्थ्यमन्त्रीको चेतावनी

    • स्वास्थ्य पेज

  • २७ पुष २०८०, शुक्रबार

नेपालगन्जः स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले वीर अस्पतालमा कसैले तालाबन्दी गरे आफैँ आएर ताला काट्ने चेतावनी दिनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आज आयोजना गरेको मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको तर अर्को समूह काम नगर्ने गरेको जिकिर गर्नुभयो ।

“मलाई बदनाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ । ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो । महिलाको स्तन क्यान्सर भएरनभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिहान ८ बजेदेखि ओपीडी सेवाको सुरुआत र विशिष्ट व्यक्तिहरूको उपचारका लागि छुट्टै वार्डको व्यवस्थाले सकारात्मक सन्देश दिएको बताउनुभयो।

उहाँले क्यान्सरको उपचार व्यवस्थासँगै मुटुरोगसम्बन्धी उपचारको पनि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिनुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले ‘थ्रिडी टेक्नोलोजी’सहित नतिजा हेर्न सकिने उत्कृष्ट मेसिन जडान गरेको जानकारी दिनुभयो। उहाँले सघन उपचार कक्षको क्षमता बढाउनुका साथै अब आउने नयाँ शैक्षिक सत्रदेखि एमबीबीएस पढाइ हुने व्यवस्था गरिएको बताउनुभयो ।

  • २७ पुष २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech