नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल रोगीहरुको वीमा कार्यक्रम सुरु हुने भएको छ । लुम्विनी प्रदेश सरकारले वंशाणुगत सिकलसेल एनिमियाका बिरामीका लागि चालू आर्थिक वर्षदेखि वीमा कार्यक्रम सुरु गर्ने योजना अनुसार राप्तीसोनारीका रोगीहरुको वीमा हुने भएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार राप्तीसोनारीमा ३३ जना सिकलसेलका बिरामी भेटिएका छन्् । प्रदेश सरकारले उनीहरुको निःशुल्क वीमा गरिदिनेछ ।
राप्तीसोनारी गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आज वीमा सुभारम्भ कार्यक्रमको आयोजना गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले वीमा कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम तय भएको पालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित लुम्विनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी नमूनाको समेत उपस्थिति रहने भएको छ ।
मन्त्री खनालले वीमा कार्यक्रमको सुभारम्भसँगै राप्तीसोनारी अस्पतालको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ । राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा रहेको राप्तीसोनारी अस्पतालको १५ शैयाको भवन निर्माणाधिन अवस्थामा छ । स्वास्थ्यमन्त्री लगायतको टोलिले उक्त भवनको समेत निरीक्षण गर्नेछ । यस्तै नरैनापुर गाउँपालिका–४ मा रहेको प्रसूति गृहको समेत स्वास्थ्यमन्त्रीको टोलिले निरक्षण गर्ने जनाइएको छ । उक्त प्रसूति गृहको सेवा विस्तारका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । शल्यक्रियासहितको सेवा प्रवाह गर्नेगरी प्रसूतिगृहलाई विस्तार गर्न लागिएको नरैनापुर गाउँपालिकाले जनाएको छ ।
सिकलसेल एनिमिया तथा थालेसिमिया रोग नियन्त्रणका लागि पालिकाले अहिले स्क्रिनिङ शिविरलाई तीव्र बनाएको छ । चालू आर्थिक वर्षमा वडा नं.१ र २ का लक्षित समूदायका सम्पूर्ण नागरिकको स्क्रिनिङ गर्ने लक्ष्यका साथ गएको पुस १७ गतेबाट अभियान सुरु गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार संकलित रक्त नमुना कोहलपुर नगरपालिकासँगको समन्वयमा कोहलपुर नगर अस्पतालमा रहेको सिकलसेल ल्यावमा परीक्षण गरिनेछ ।