कोहलपुरः कोहलपुर नगरपालिका वडा नं. ७ लखनवारमा निःशुल्क आँखा स्क्रिनिङ शिविर गरिएको छ । ओम प्रकाश स्मतिमा संचालित सद्भाव फाउण्डेस कोहलपुरको आयोजना, भिजन आँखा अस्पताल, सुरक्षा मेडिकल, बागेश्वरी अप्टिकल्सको सहयोग तथा वडा कार्यालयको समन्वयमा शिविर गरिएको हो । उक्त शिविरमा निःशुल्क आँखा चेकजाँच गर्नुका साथै औषधी वितरण गरिएको थियो ।
त्यसक्रममा चस्मा आवश्यक पर्ने बिरामीलाई सहुलियत दरमा चस्मा उपलब्ध गराइएको संरक्षक राजवीर बर्णवालले बताउनुभयो । उहाँका अनुसार १०४ जनाले सेवा लिएको उक्त शिविरमा १६ जनालाई चस्मा वितरण गरिएको थियो । ११ जनालाई मोतिविन्दुको समस्या देखिएको छ । मोतिविन्दुका समस्या देखिएका बिरामीको भिजन आँखा अस्पतालमा पचास प्रतिशत छुटमा शल्यक्रिया गरिने पनि संरक्षक वर्णवालले जानकारी दिनुभयो ।
शिविरमा नेत्र प्राविधिक मोनिका राना र यादव पौडेलले आँखाको चेकजाँच गर्नुभएको बताइएको छ । शिविरमा वडाअध्यक्ष ठग्गा थारु, संस्थाका अध्यक्ष मन्जुल भट्टराई, स्वास्थ्य चौकी प्रमुख सुदन बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।