नेपालगन्जः स्ट्रेन्थलिफ्टिङमा स्वर्ण पदक जित्नु भएका दण्तरोग विशेषज्ञ डा. प्रतिक श्रेष्ठसहितका विजेता खेलाडीहरुलाई नेपालगन्जमा सम्मानित गरिएको छ । भारतको हैदराबादमा भएको १० औँ वर्ल्ड स्ट्रेन्थलिफ्टिङ विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेर फर्किनु भएका नेपालगन्ज निवासी डा. श्रेष्ठसहितका खेलाडीलाई एक कार्यक्रमका बीच आज सम्मानित गरिएको हो । सो प्रतियोगितामा स्वर्ण पदक जित्ने डा. श्रेष्ठ र रजत पदक जित्ने र सन्तोषकाजी शाक्यलाई सम्मान गरिएको हो ।
१८ देखि २२ डिसेम्बर, २०२३ सम्म भारतको हैदराबादमा भएको प्रतियोगितामा नेपालगन्जका डा. श्रेष्ठले ९५ किलो तौल पुरुष सिनियरतर्फको प्रतिस्पर्धामा स्वर्ण पदक जित्नु भएको थियो । त्यसैगरी, नेपालगन्जकै सन्तोषकाजी शाक्यले ७६ किलो तौल पुरुष मास्टर वानतर्फको प्रतिस्पर्धामा रजत पदक जित्नु भएको थियो । दुवै खेलाडीले नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनु भएको थियो । प्रतियोगितामा नेपालका ४५ जना खेलाडीले सहभागिता जनाएको जनाउँदै स्वर्ण पदक विजेता डा. श्रेष्ठले उनीहरूले १६ स्वर्ण, १४ रजत र चार कांस्य पदक जितेको बताउनुभयो ।
दुबैजना खेलाडीलाई नेपालगन्जमा बाँके जिल्ला स्ट्रेन्थलिफ्टिङ संघ, लाइफलाइन अस्पताल र गणपति डेन्टलले सम्मान गरेको छ । नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट र लाइफलाइन अस्पतालका अध्यक्ष अशोक श्रेष्ठ र डा. पारस श्रेष्ठले सम्मान गर्नुभयो । सो अवसरमा बोल्दै मेयर विष्टले स्ट्रेन्थलिफ्टिङको विश्व च्याम्पियनसिपमा सवर्ण र रजत पदक जितेर खेलाडीले नेपालगन्ज र नेपालको नाम विश्वभर फैलाएको जनाउँदै यसले अन्य खेलाडीलाई पनि उत्साहित बनाएको बताउनुभयो । नेपालगन्जबाट पाँच जना खेलाडी सहभागी भएकोमा दुई जना खेलाडीले पदक जित्नु भएको हो ।