सिकलसेल रोग पहिचान गर्न राप्तीसोनारी र कोहलपुरबीच सहकार्य

    • स्वास्थ्य पेज

  • १२ पुष २०८०, बिहीबार

कोहलपुरः सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचान गर्न बाँकेमा कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले अन्तरपालिकास्तरीय सहकार्य गर्ने भएका छन् । थारु बाहुल कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाले सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोगको पहिचानमा अन्तरपालिकास्तरीय समन्वय र सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् । सिकलसेल एनिमिया र बिटा थालेसिमिया थारु समुदायमा जनस्वास्थ्य समस्यकारुपमा रहेको छ । दुवै पालिकाले सिकलसेल र थालेसमिया रोग नियन्त्रणका लागि विशेष प्राथमिकता दिएर काम गरिरहेका छन् ।

आज दुवै पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखाका प्रमुखहरुबीच कोहलपुरमा भएको समन्वयात्मक बैठकमा सहकार्य गरेर अघि बढ्ने सहमति गरेका हुन् । सहमतिसँगै अव राप्तीसोनारी गाउँपालिकाबाट संकलन गरिएको रक्त नमुना कोहलपुर नगर अस्पतालमा रहेको किसलसेल ल्यावमा परीक्षण हुने राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार राप्तीसोनारी गाउँपालिकाले संकलन गरेको सिकलसेल तथा थालेसिमियाको रक्त नमुना जाँचका लागि नमुना संकलनका आधारमा आवश्यक पर्ने केमिकल भने कोहलपुर नगरपालिकालाई उपलब्ध गराउने सहमति भएको कोहलपुर नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अनिलसेन ठकुरीले बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिकाले रक्त नमुना संकलन प्रत्येक साताको आइतवार, सोमवार र मंगलवार तीन दिन गर्नेछ । गाउँपालिकाले रक्त नमुना संकलन भने चार महिनामात्रै गर्नुपर्नेछ । पुस, माघ, फागुन र चैत महिनासम्म संकलित रक्त नमुना कोहलपुर नगरपालिकाले जाँचपछि रिर्पोट राप्तीसोनारीलाई दिनु पर्ने सहमति भएको छ । रक्त नमुना संकलनका लागि शिविर संचालन तथा व्यवस्थापन र सिकलसेल ल्यावमा सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीको पारिश्रमिक भने स्वास्थ्य कार्यालय बाँकेले उपलब्ध गराउने स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश बाबु श्रेष्ठले बताउनुभयो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले थारु समुदायलाई प्रभावित पारिरहेको सिकलसेल एनिमिया तथा बिटा थालेसिमिया रोग कोहलपुर नगरपालिकाको मात्रै नभएर बाँकेकै समस्या भएकाले पालिकास्तरसँगको समन्वयमा यसको नियन्त्रण जरुरी रहेको बताउनुभयो । उहाँले स्वास्थ्यका क्षेत्रमा मात्र नभएर अन्य विकास निर्माणका सवालमा पनि अन्तरपालिकासँगको समन्वय आवश्यक रहेको औल्याउनुभयो ।

यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले सिकलसेल तथा थालेसिमिया रोगको पहिचानका लागि पालिकाले स्क्रिनिङ शिविरलाई प्रभावकारी बनाउने योजनामा पालिका रहेको बताउनुभयो । उहाँले यही पुस १६ गतेदेखि वडा नं. १ र २ का लक्षित समूदायका सबै नागरिकको सिकलसेल तथा थालेसिमिया परीक्षण गरिने बताउनुभयो । उस्तै समस्या भएका सवालमा अन्तरपालिका समन्वयका माध्यमबाट त्यसलाई निराकरण गर्न सकिने उहााको भनाइ छ । कोहलपुर र राप्तीसोनारी छिमेकी पालिका भएकाले समन्वय र सहकार्य जरुरी रहेको पनि अध्यक्ष पौडेलले बताउनुभयो ।

कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीले सिकलसेल तथा थालेसिमिया रोग नियन्त्रणका लागि रोगको पहिचानसँगै सचेतिकरण कार्यक्रम आवश्यक रहेको औल्याउनुभयो । उहाँले कोहलपुर नगरपालिकाले चालू शैक्षिकसत्र देखि सिकलसेल एनिमिया र बिटा थालेसिमिया रोग सम्वन्धी जनचेतनामूलक पाठ्यपुस्तक माध्यामिक तह कक्षा ९ र १० मा अध्यापन गराउने तयारीमा रहेको पनि बताउनुभयो ।

कोहलपुर नगरपालिकामा हालसम्म करिव १३ हजार सिकलसेल एनिमियाको रक्त नमुना परीक्षण भएको छ । त्यसमा सय जना भन्दा बढी सिकलसेल तथा थालेसिमियाका बिरामी भेटिएका छन् । यस्तै राप्तीसोनारीमा ३३ सय ५० नमुना जाँच भएकोमा ५६ जना सिकलसेलका रोगी र एकजनामा थालेसिमिया देखिएको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख आचार्य, उपप्रमुख सुवेदी, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अनिलसेल ठकुरी, सिकलसेल ल्याव प्रमुख शिव गौतम, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडेल, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, स्वास्थ्य शाखा प्रमुख केसी, स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी श्रेष्ठसम्मेलित समन्वयात्मक बैठकमा सहमति पत्रमा हस्ताक्षर भएको हो ।

  • १२ पुष २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech