नेपालगन्जः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सीमा नाकाबाट आउने सङ्क्रमितको नमुना सङ्कलन गरेर अणुवाङ्शिक अध्ययन (जिन सिक्वेन्सिङ) गरेको छ । प्रयोगशालाले सीमा नाकामा सङ्क्रमितबाट सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरेको हो ।
प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट भेरिएन्ट अफ इन्टरेस्ट फेला नपरेको बताउनुभयो । उहाँले ती नमुनामा जिन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको पुरानो भेरियन्ट ओमिक्रोनको भेरियन्ट देखिएको बताउनुभयो । भारतबाट नेपाल प्रवेश गर्ने सीमा नाकामा नोभेम्बर महिनामा सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरिएको हो । ‘सीमा नाकाबाट फेरि पनि जिन सिक्वेन्सिङका नमुना पठाउन भनेका छौँ, उहाँले भन्नुभयो-‘डिसेम्बर महिनाका पनि हामीले जिन सिक्वेन्सिङ गर्ने छौँ ।’
सरकारले भारतको केरला राज्यमा देखिएको सङ्क्रमणको रोकथाम र उपचारका लागि तयारी अवस्था रहेकाले नडराउन सबैलाई आग्रह गरेको छ । प्रयोगशालाले चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनियाको जिन सिक्वेन्सिङ गर्ने तयारी गरेको छ । प्रयोगशालाका निर्देशक डा भट्टले जिन सिक्वेन्सिङका लागि किट रहेकोले नमुना सङ्कलन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।