नसर्ने रोगी खोज्न बिनौनामा स्क्रिनिङ शिविर, २६४ जनालाई थप जाँचका लागि प्रेषण

    • स्वास्थ्य पेज

  • ९ पुष २०८०, सोमबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ स्थित बिनौना स्वास्थ्य चौकीमा सुगर (मधुमेह), प्रेसर (उच्च रक्तचाप) र मिर्गौला सम्वन्धी स्क्रिनिङ शिविरमा ३१८ जनाले सेवा लिएका छन् । लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, स्वास्थ्य कार्यालय बाँकेको आयोजना र राप्तीसोनारी गाउँपालिकाको समन्वयमा भएको मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग स्क्रिनिङ शिविरमा ३१८ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार ती मध्ये थप जाँच तथा उपचारका लागि २६४ जनालाई अस्पतालमा प्रेषण गरिएको छ ।

सामान्य भन्दा बढी तौल (महिला ६५ केजी र पुरुष ७५ केजी भन्दा बढी ) भएकोहरुको संख्या १३७ जना पाइएको छ । त्यसैगरी सामान्य भन्दा बढी रक्तचाप भएकोकाहरुको संख्या १५८ जना पाइएको श्रेष्ठले बताउनुभयो । ८५ जनामा रगतमा चिनिको मात्रा सामान्य भन्दा बढी, २१ जनामा पिसाबमा चिनीको मात्रा बढी, २१ जनामै पिसाबमा एल्बुमिन देखा परेको छ । त्यसैगरी २१ जनामा पिसाबमा पि.एच. असामान्य देखिएको पनि श्रेष्ठले बताउनुभयो । नसर्ने रोगबारे सचेतना फैलाउने र नयाँ बिरामी खोज्न शिविर गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।

नयाँ बिरामी पत्ता लगाउने अभियान भएकाले निदान भइसकेका, औषधी खाइरहेका र पुराना बिरामीको शिविरमा भने स्वास्थ्य चेकजाँच नगरिएको पनि उहाँले बताउनुभयो । उक्त शिविरमा राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीको नेतृत्वमा बिनौना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा स्वास्थ्य कार्यालय बाँकेको तर्फबाट अधिकृत समेत रहेका सुचना अधिकारी श्रेष्ठ सहितको टोलि खटिएको थियो । यसअघि पुस ६ गते वडा नं.८ को आभारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्जमा भएको शिविरमा २०६ जनाले सेवा लिएका थिए ।

  • ९ पुष २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech