मधुमेह, उच्च रक्तचाप र मिर्गौलाका नयाँ बिरामी खोज्न राप्तीसोनारीमा भोलि स्क्रिनिङ शिविर

    • स्वास्थ्य पेज

  • ५ पुष २०८०, बिहीबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकामा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाका नयाँ बिरामी खोजी गरिने भएको छ । ४० वर्षमाथिका नागरिकहरुलाई मधुमेह र उच्च रक्तचापको जोखिम बढी हुने चिकित्सकहरु बताउँछन् । यी नसर्ने रोग हुन् । नसर्ने रोगीको पहिचान गर्नका लागि राप्ती सोनारीका दुई वटा वडामा स्क्रिनिङ शिविर नै राखिएको छ । पुस ६ गते शुक्रबार आभारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्ज र पुस ८ गते बिनौना स्वास्थ्य चौकीमा मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोग स्क्रिनिङ शिविर आयोजना गरिएको हो । राप्तीसोनारी गाउँपालिका र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा लुम्विनी प्रदेश सरकारको सहयोगमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाका नयाँ बिरामी खोज्न शिविर राखिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

स्क्रिनिङ शिविर भएकाले रोग पहिचान भएकाहरुको भने स्वास्थ्य चेकजाँच गरिने छैन । ‘समुदायमा जाँच नभइ पत्ता लाग्न नसकी लुकेर रहेका मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलाका नयाँ रोगी पत्ता लगाउनका लागि स्क्रिनिङ शिविरको आयोजना गरिएको हो सूचना अधिकारी श्रेष्ठले भन्नुभयो–‘रोगको पहिचान गरी बेलैमा उपचारमा सहजता होस् र बिरामीको अकालमा हुने मृत्यु रोकियोस् भन्ने उद्देश्य हो ।’ पछिल्लो समय नसर्ने रोगका कारण मानिसहरु अकालमा ज्यान गुमाइरहेका छन् । ४० वर्ष नाघेका नागरिकहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएकाले आफ्नो स्वास्थ्य चेकजाँच गराउन पालिका अध्यक्ष तप्त बहादुर पौडेलले आग्रह गर्नुभएको छ ।

नयाँ बिरामी पत्ता लगाउने अभियान भएकाले निदान भइसकेका, औषधी खाइरहेका र पुराना बिरामीको शिविरमा स्वास्थ्य चेकजाँच नहुने पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो । उहाँले मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगको शंका लागेका बिरामीले भने शिविरमा लाभ लिन सक्ने पनि उहाँको भनाइ छ । प्रदेश सरकारले नसर्ने रोगको पहिचान र निदानका लागि स्वास्थ्य कार्यालय बाँकेलाई पाँच लाख रुपैयाँ पठाएको छ । स्वास्थ्य कार्यालयले पालिकासँगको समन्वयमा स्क्रिनिङ शिविर राखेको हो । अन्य पालिकाहरुमा पनि शिविर राख्ने योजनामा स्वास्थ्य कार्यालय रहेको छ ।

  • ५ पुष २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech