ग्रीन टि पिउने सही तरिका के हो ? के ग्रीन टिले मोटोपन र रक्तचाप नियन्त्रण गर्छ ?

    • स्वास्थ्य पेज

  • २ पुष २०८०, सोमबार

स्वस्थ्यवर्द्धक पेयको रुपमा ग्रीन टि पिउने प्रचलन बढ्दो छ, नेपाली समाजमा पनि । उपभोक्ताले यसलाई ‘स्वाद भन्दा पनि स्वस्थ्यका लागि’ भन्दै पिउने गरेका छन् ।

अर्कोतिर उत्पादक एवं विक्रेताले ग्रीन टि एकदमै लाभदायक पेय भएको दावी गर्दै आएका छन् । नेपालमा मात्र होइन, विश्वभर नै ग्रीन टिको उपयोगिता बढेर गएको छ ।

कसैले यसलाई ‘मोटोपन घटाउने’ भन्दै पिएका छन् भने कसैले ‘रक्तचाप र मधुमेह नियन्त्रण गर्न’ । कसैले ‘क्यान्सर प्रतिरोधी’ त कसैले ‘छालाको चमक बढाउने’ पेयको रुपमा ग्रीन टि पिउने गरेका छन् ।

के वास्तवमै फाइदा गर्छ ग्रीन टिले ?

ग्रीन टिमा त्यस्तो के तत्व हुन्छ, जसले रक्तचाप, मोटोपन घटाउनदेखि क्यान्सरको जोखिमसम्म कम गर्छ ? यसबारे अन्तर्राष्ट्रियस्तरमै फरक-फरक अध्ययन भएको छ ।  एक अध्ययन अनुसार ग्रीन टिमा मोटोपन नियन्त्रणदेखि क्यान्सर प्रतिरोधी तत्व हुन्छ । टाइम म्यागेजिनको एउटा रिपोर्टमा ग्रीन टिले प्राकृतिक रुपमा उच्च रक्तचाप घटाउने उल्लेख छ ।

क्यान्सर प्रतिरोधी तत्व

ग्रीन टिमा एपिगालोक्टेचिन ग्यालेट (ईजीसीजी) फ्लेभोनोइड परिवारको एक एन्टिअक्सिडेन्ट पाइन्छ । यसले हाम्रो शरीरमा फ्रि रेडिकल्सको कारण हुनसक्ने क्षतिलाई रोक्छ । फ्रि रेडिकल्स त्यही हो, जसले शरीरको कोशिकालाई नष्ट गर्छ र क्यान्सरको जोखिम बढाइदिन्छ ।

द मेडिकल टुडेमा प्रकासित एक रिपोर्टमा ग्रीन टिको उपभोग गर्ने देशहरुमा केही क्यान्सरको दरहरु कम भएको दावी गरिएको छ । सन् २०२० मा समीक्षा गरिएको सय भन्दा बढी अध्ययनको निचोड छ, क्यान्सरको जोखिम कम गर्नमा ग्रीन टि प्रभावकारी देखिएको छ ।

बुढ्यौलीपन रोक्ने ‘एन्टिअक्सिडेन्ट’ कस्तो खानेकुरामा पाइन्छ ?

पाटन अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही पनि यो कुरामा सहमत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यसमा एन्टि अक्सिडेन्ट प्रचुर मात्रामा पाइने भएकाले फ्रि रेडिकल्ससँग लड्छ र क्यान्सरको जोखिम कम गराउँछ ।’ क्यान्सर हुने तत्वलाई हावी हुन नदिन ग्रीन टिले राम्रो काम गर्ने उहाँको भनाइ छ ।

रक्तचाप नियन्त्रण गर्छ

ओम अस्पतालमा कार्यरत डा. कमल शर्मा लम्साल  भन्नुहुन्छ, ‘यसमा पाइने पोलिफेनोलसले उच्च रक्तचाप र ब्लड सुगरको स्तर घटाउँछ । साथै रक्तनलीमा जमेको बोसोजन्य पदार्थलाई टुक्राएर मुटु तथा मस्तिष्कको कार्य संचालनलाई सहज बनाउँछ ।’

ब्रिटिश हार्ट फाउन्डेशनले गरेको अध्ययनले पनि दिनँहु ग्रीन टी पिउँदा मुटुको धमनीहरू खुला र नरम बनाउँछ । फलत यसले हृदयघातको जोखिम कम गर्छ ।

यता, फोर्ब्स हेल्थकाअनुसार २०१६ मा यस विषयमा विभिन्न ९ वटा अध्ययन भएका थिए । सो अध्ययनलाई विश्लेषण गर्दा दैनिक तीन कप ग्रीन टि पिउनेमा मस्तिष्क र हृदयघातको जोखिम कम हुने देखिएको थियो ।

मोटोपन नियन्त्रण

मेडिकल न्युज टुडेको एक रिपोर्टमा ग्रीन टिले कसरी मोटोपन घटाउँछ भन्ने तथ्य पेश गरेको छ । त्यस अनुसार ग्रीन टिले मेटाबोलिज्मलाई अरु प्रभावकारी बनाउँछ । मेटाबोलिज्म भनेको हामीले खाएको कुनैपनि खानेकुरालाई उर्जामा रुपान्तरण गर्ने प्रक्रिया हो । ग्रीन टिमा क्याफिन र क्याटेचिन हुन्छ, जसले खानेकुरा पचाउनमा सहयोग गर्छ ।

सन् २०१० मा प्रकासित एक समीक्षामा ग्रीन टिले तौल नियन्त्रण गर्न सक्ने उल्लेख छ ।  ग्रीन टिमा उपलब्ध कतिपय यौगिकले शरीरमा भएको बोसोलाई टुक्राउँछ । आठ हप्ताको एक अध्ययनमा के पाइएको थियो भने ग्रीन टि पिउने र साथसाथै व्यायाम पनि गर्ने हो भने तिब्र रुपमा फ्याट बर्न हुन्छ ।

‘सही ढंगले पिउँदा लाभदायक’ : आहारविज्ञ डा. राजु अधिकारी

ग्रीन टि एक स्वस्थ्यवर्द्धक पेय हो । यसले मोटोपन घटाउने, रक्तचाप नियन्त्रण गर्ने, मुटु र मस्तिष्कको कार्यक्षमता चुस्त बनाउने जस्ता अनेक लाभ छन् । ग्रीन टिले कसरी यस्तो काम गर्छ भन्ने कुरामा विश्वभर थुप्रै अध्ययन भएका छन् । र, सदियौंदेखि यसको प्रयोग हुँदै आएको छ ।

यो एन्टि अक्सिडेन्टको समृद्ध स्रोत हो । यही गुणको कारण ग्रीन टिले मुटुलाई फाइदा गर्नेदेखि क्यान्सरको जोखिम कम गर्नेसम्म भूमिका खेल्छ । त्यसका साथै ग्रीन टिमा पोटासियम, म्याग्नेसियम, भिटामिन बि–२ जस्ता सुक्ष्म पोषक तत्व पाइन्छ ।

ग्रीन टिले एन्टि एजिङको रुपमा पनि काम गर्छ र शरीरको छालामा चमक कायम राख्छ । यसमा पाइने एमिनो एसिडएल—थिएनिनले डोपामाइन, सेरोटोनिन जस्ता हर्मोन उत्पादन गर्छ, जसले मस्तिष्कलाई उत्साहित र उमंगित बनाइराख्छ ।

ग्रीन टि एकदमै लाभदायक छ भन्ने कुरामा अब द्विविधा छै्रन । तर, यो कुनै औषधि होइन जसले तुरुन्तै प्रभाव पार्छ । ग्रीन टिको प्रभाव शरीरमा क्रमस पर्ने हो । नियमित रुपमा पिउनेहरुलाई यसले लाभ गर्छ ।

यसमा पनि मान्छेको शारीरिक अवस्था, जीवनशैल आदिको असर हुन्छ । यदि तपाईं सही खानपान गर्नुहुन्छ, व्यायाम गर्नुहुन्छ भने ग्रीन टि तपाईंको शरीरले बढी लाभ लिन्छ । तर, त्यस विपरित तपाईंको जीवनशैली खराब छ भने ग्रीन टिले कुनै रोग छु मन्तर हुने होइन ।

नेपालीमा एउटा भनाई छ, अतिले हुन्छ क्षति । ग्रीन टिको हकमा पनि यसै भन्नुपर्ने हुन्छ । ग्रीन टि दिनमा तीनदेखि चार गिलास (मझौला आकारको) पिउनु उत्तम हुन्छ ।

यसैगरी ग्रीन टि खाली पेटमा पिउनु हुँदैन । गर्भवती, रक्तचाप न्युन भएकाहरुले पनि ग्रीन टि पिउनु उचित हुन्न । कुनै रोगको उपचार गराइरहेका वा औषधि खाइरहेकाहरुले ग्रीन टि पिउनुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।

गीन टि पिउने सही तरिका के हो ?
ग्रीन टि कति, कसरी, कुन समयमा पिउने भन्ने कुराले यो कति प्रभावकारी हुन्छ भन्ने कुराको टुंगो गर्छ ।

कति पिउने ?

दिनमा तीन वा चार कप (मझौला कप) पिउनुपर्छ ।

कुन समयमा पिउने ?

ग्रीन टी खाली पेटमा, खाना खाँदा र खाना खाने बित्तिकै पिउनु हुँदैन । खाना खानु अघि र पछि ३० देखि ४५ मिनेटको अन्तरको समय ग्रीन टी पिउनु उत्तम हो ।

कसरी तयार गर्ने ?

ग्रीन टि अन्य चिया जस्तो पकाउनु पर्दैन । कपमा ग्रीन टि राखेर त्यसमाथि तातो पानी राख्ने । दुई–तीन मिनेट छोप्ने । त्यसपछि ग्रीन टि पिउन सकिन्छ ।

कस्तो ग्रीन टि पिउने ?

बजारमा अनेकथरी ग्रीन टि छन् । त्यसमध्ये सकेसम्म खुला ग्रीन टि लिनु उपयोगी हुन्छ । पानीमा भिजाएपछि चियाका पत्ताहरु पुनः हरियो देखिन्छ । उक्त चिया अग्यार्निक प्रमाणित हो वा होइन बुझ्नु जरुरी छ ।

  • २ पुष २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech