नेपालगन्जः स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वरिष्ठ चिकित्सक डा.गोविन्द केसीमाथि गम्भीर आरोप लगाउनुभएको छ । उहाँले केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको आरोप लगाउनुभएको हो । राष्ट्रिय ट्रमा सेन्टरले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले वरिष्ठ चिकित्सक केसीले बेलाबेलामा अनसन बस्नेकुरा देश र जनताको अहितमा भएपनि मेडिकल गिरोहजस्ता गलत मान्छेहरुको फन्दामा परेर त्यसो गरिरहेको उल्लेख गर्नुभयो ।
मन्त्री बस्नेतले त्यस्ता अभियानको बचाउमा नलाग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत गराउनुभयो । उहाँले वरिष्ठ चिकित्सक केसीको अभियानमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आफूले कारबाही गर्ने चेतावनी समेत दिनुभयो । मन्त्री बस्नेतले यथास्थितिमा ५ वर्षपछि मुलुकमा डाक्टर र नर्स खोज्दा पनि नपाउने स्थिति आउने भएकाले आफूले एक सयदेखि ३ सयसम्म शैय्या भएका सरकारी अस्पतालहरुमा नर्स र पारामेडिक्स पढाउने र त्यो भन्दा माथि शैय्या भएको अस्पतालमा एमबीबीएससम्मको पठनपाठन गराउने पस्ताव गरेको बताउनुभयो ।
उहाँले सो प्रस्ताव देश र जनताको हितका लागि अतिआवश्यक भएकाले त्यसलाई कार्यान्वयनमा लागि साथ दिन पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई पटकपटक आग्रह गर्नुभयो ।