नेपालगन्जः बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएको प्रहरीले जनाएको छ । गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो ।
आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताउनुभयो । गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ ।
‘कसलामा आगो बालेर बाहिर ताप्नुभएको रहेछ । कोइला भित्र लानुभएको रहेछ । बच्चाहरू खाटमा सुतेका र २ जना महिला भुईंमा सुत्नुभएछ । राति कोइलाबाट आगलागी भएछ’, वडाध्यक्ष सुरेश गौतमले भन्नुभयो । प्रहरीले भने घटनाको अनुन्धान गरिरहेको बताएको छ । आगलागी हुँदा घरको एउटा कोठामा पूरै क्षति भएको प्रहरीले जनाएको छ ।