चिसोले जाजरकोट र रुकुम पश्चिममा १३ जना भूकम्पपीडितको मृत्यु

    • स्वास्थ्य पेज

  • ९ मंसिर २०८०, शनिबार

नेपालगन्जः चिसोका कारण जाजरकोट र रुकुम पश्चिममा १३ जनाले ज्यान गुमाएका छन् । १७ कात्तिकमा रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि पुगेका भूकम्पपीडित मंसिरको चिसोका कारण झन् समस्यामा परेका हुन् । सम्बन्धित स्थानीय तहबाट प्राप्त तथ्यांकअनुसार हालसम्म जाजरकोटमा ११ र रुकुम पश्चिममा दुईजनाले ज्यान गुमाएका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ११ का ८० वर्षीया पद्मी ओली र ७० वर्षीय दत्ते कामीको मृत्यु भएको वडाध्यक्ष प्रेमबहादुर पुनले पुष्टि गर्नुभयो ।

पद्मीको ५ मंसिर र दत्तेको ३० कात्तिकमा मृत्यु भए पनि ढिलो गरी घटना सार्वजनिक भएको हो । वडाध्यक्ष पुनका अनुसार ज्यान गुमाउने दुवै दमका रोगी हुन् । ‘न्यानोमा बस्नुपर्ने र नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिहरू मंसिरको चिसोमा पालमुनि बस्नुपर्दा समस्यामा पर्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म दुईजनाको ज्यान गइसक्यो । वडामा धेरै व्यक्ति बिरामी छन् ।’

सिोका कारण जाजरकोटमा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुता, नलगाड नगरपालिका– ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, जुनीचाँदे गाउँपालिका– ४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका– १ रामीडाँडाका ७० वर्षीय डुमे पुन, छेडागाड नगरपालिका– १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, ४८ वर्षीया पम्फा रावल तथा कुशे गाउँपालिका– ५ की ६५ वर्षीया देवी मल्ल र वडा नम्बर ६ का ५५ वर्षका गथु शाहीको ज्यान गएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन् ।

भूकम्पपीडितमा रुघाखोकी, ज्वरो र पखलाको समस्या देखिएको छ । रुकुम पश्चिमको आठबिसकोटले ११ ठाउँमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा पनि रुघाखोकी, ज्वरो र पखलाका बिरामी धेरै आइरहेको नगर स्वास्थ्य संयोजक प्रेमप्रकाश रोकायाले जानकारी दिनुभयो । चिसोका कारण बिरामी परेकामा दूषित पानीका कारण पखलासमेत देखिएको उहाँले बताउनुभयो । चिसोबाट जोगिन र उमालेको पानी पिउन अनुरोधका लागि भूकम्प प्रभावित क्षेत्रमा सचेतनामूलक माइकिङ गर्ने तयारी गरिएको रोकायाले बताउनुभयो ।

उहाँका अनुसार नगरपालिका– १४ का ज्यामिरकोट र पिपलचौर, १३ का गाउँबारी र भल्मा, १२ का ठूलीबार्खु र सानीबार्खु, ११ का गत्तसैना र गोइरी, १० का घारीखोला र झिन्चौर तथा वडा नम्बर ९ को सुन्दरपानीमा शिविर सञ्चालन गरेको छ । आठबिसकोट नगरपालिकाका मेयर रवि केसीले भूकम्प प्रभावितलाई चिसोबाट जोगाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको बताउनुभयो ।

‘हाम्रो क्षमताले भ्याएसम्म स्वास्थ्यकर्मी परिचालन, औषधि उपचारदेखि भूकम्प प्रभावितलाई चिसोबाट जोगाउन न्यानो कपडाको प्रबन्धलगायत प्रयास गरिरहेका छौँ,’ केसीले भन्नुभयो । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका सूचना अधिकारी कृष्णबहादुर खत्रीले चिसोबाट भूकम्प प्रभावितलाई जोगाउन सबै पालिका र स्वास्थ्य संस्थालाई विशेष सतर्कता अपनाउन भनेको बताउनुभयो ।

  • ९ मंसिर २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech