राप्तीसोनारीमा स्वास्थ्यको बजेट ८ करोड बढी

एक्स रे, ल्याव, बाआमासँग अध्यक्ष कार्यक्रम, गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम, अपांगता भएका व्यक्ति लक्षित, पाठेघरको मुखको क्यान्सर चेकजाँच जस्ता कार्यक्रमलाई प्राथमिकता


    • प्रियास्मृति ढकाल

  • ६ मंसिर २०८०, बुधबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिकाको स्वास्थ्यतर्फ ८ करोड बढी बजेट विनियोजन भएको छ । चालू आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय सरकारको ४ करोड ३८ लाख, प्रदेशको १५ लाख र पालिका आफैको ३ करोड ३५ लाख गरी कूल ८ करोड १७ लाख बजेट विनियोजन भएको हो । संघीय सरकारले पठाएको ४ करोड ३८ लाख बजेटमध्ये २ करोड ५३ लाख बजेट भने कर्मचारीको तलवभत्ताका लागि विनियोजन भएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य बाँकी बजेटबाट आधारभूत स्वास्थ्य चौकीमा औषधि खरिद, आमा सुरक्षा कार्यक्रम, नवजात शिशु, मातृ तथा आमा सुरक्षा, विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रम, महिला स्वास्थ्य स्वयसेविका कार्यक्रम लगायतमा विनियोजन भएको पनि उहाँले बताउनुभयो ।

उहाँका अनुसार आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधि खरिदमा १२ लाख ७४ हजार, आमा सुरक्षा कार्यक्रममा ४१ लाख, स्थानीय तह मार्फत मातृ तथा नवशिशु कार्यक्रममा १७ लाख ७५ हजार, स्थानीय तह तर्फ मातृ तथा नवजात शिशु कार्यक्रम अन्तर्गत आमा सुरक्षा, गर्भवती उत्प्रेरणा सेवा, रक्तसंचार, न्यानो झोला, निशुल्क गर्भपवत र नवजात शिशुको निशुल्क उपचार कार्यक्रमका लागि ४४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमका लागि २० लाख ८३ हजार र महिला स्वास्थ्य स्वयम सेविकातर्फ २४ लाख १७ हजार रुपैयाँ विनियोजन गरिएको पनि उहाँले बताउनुभयो । त्यसैगरी पालिका आफैले ३ करोड ३५ लाख विनियोजन गरेको छ । त्यसमा २ करोड ७४ लाख रुपैयाँ करारका कर्मचारीको तलवभत्तामै खर्च हुने पनि स्वास्थ्य शाखा प्रमुख केसीले वताउनुभयो । पालिकामा दुई जना चिकित्सक सहित ६५ जना करारका कर्मचारी छन् ।

स्टाफ नर्स, अनमी, अहेवदेखि सरसफाईकर्मी र एम्वुलेन्स चालकलाई पनि करारमा राखिएको छ । यस्तै स्थायीतर्फ ४५ जना कर्मचारी छन् । लुम्विनी प्रदेश सरकारले स्वास्थ्य तर्फबाट १० लाख बजेट विनियोजन गरेको छ । सिकलसेल एनिमिया, प्रयोगशाला निर्माण र सोलार जडानका लागि भनेर १० लाख बजेट प्रदेशबाट आएको केसीको भनाइ छ । उहाँका अनुसार सिकलसेल एनिमिया सम्वन्धी कार्यक्रम र जेष्ठ नागरिक घुम्ती शिविरका लागि ५ लाख, राप्ती सोनारी गाउँपालिका–७ मा रहेको हेल्थपोष्टमा सोलार जडानका लागि ५ लाख र वडा नं. ६ मा रहेको हेल्थपोष्टमा प्रयोगशाला सामाग्री र वालवाउण्ड्रीका लागि ५ लाख गरी बजेट विनियोजन भएको छ ।

गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउने गरी पालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले एक्स रे, ल्याव, बाआमासँग अध्यक्ष कार्यक्रम, गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम, अपांगता भएका व्यक्ति लक्षित, पाठेघरको मुखको क्यान्सर चेकजाँच जस्ता कार्यक्रमलाई प्राथमिकता दिएर पालिकाले काम गरिरहेको समेत उल्लेख गर्नुभयोे । ‘सबै नागरिकहरुले सहज र सरल तरिकाले सेवा प्राप्ती गरुन् भन्ने पालिकाको उद्देश्य छ उहाँले भन्नुभयोे–‘सीमित स्रोत साधनलाई अधिकतम उपयोग गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी पालिकाले काम गरिरहेको छ ।’

पालिकाले हालसम्म राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य संस्थामा पाँच वटा ल्याव जडान गरिसकेको छ । चालू आर्थिक वर्षमा खासकुश्मा स्वास्थ्य चौकीमा ल्याव सेवा सुरु गरिएको छ । गएको वर्ष कचनापुर स्वास्थ्य चौकी, महादेवपुरी स्वास्थ्य चौकी, बैजापुर अस्पताल र बिनौना स्वास्थ्य चौकीमा पालिकाको आफ्नै लगानीमा ल्याव सेवा सुरु गरेको थियो । अव वडा नम्वर ६ मा रहेको स्वास्थ्य चौकीमा पनि ल्याव सेवा सुरु गर्ने गरी तयारी थालिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

पालिकाले चालू आर्थिक वर्षमा विशेष गरी आँखा र कान सम्वन्धी महत्वपूर्ण शिविरहरु सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो । यो अवधिमा चार ठाउँमा आँखा शिविर गरिएको र त्यसमा ७३४ जनाले प्रत्यक्ष सेवा लिएका थिए । आँखा चेकजाँच गरिएकामध्ये १७४ जनाको तिलगंगा आँखा अस्पतालको शाखा कार्यालय दाङमा शल्यक्रिया गरिएको थियो । त्यसैगरी व्रिनोज कान स्याहार केन्द्र नेपालगन्जसँगको सहकार्यमा १० वटा कान उपचार शिविर आयोजना गरिएको थियो । त्यसमा ६६६ जनाको कान चेकजाँच गरिएकोमा ६२ जनाको शल्यक्रिया गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवालाई घरदैलोमा पुर्याउने गरी तत्काल स्वास्थ्य शिविरको आयोजना गरिएको पनि उहाँले सुनाउनुभयो । नेपाली सेनासँगको सहकार्यमा यही मंसिर ९ गते वडा नं. ९ को बैजनाथमा जनरल, स्त्री रोग र मुटु रोग लक्षित शिविर आयोजना गरिएको जानकारी दिनुभयो । पालिकाले १५ शैयाको अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै लगेको उपाध्यक्ष मनिषा थारुले बताउनुभयो ।

यो अस्पतालबाट हुने सेवालाई सहज, सरल र गुणस्तरीय बनाइएको छ उनले भने अत्याधुनिक प्रयोगशालासँगै एक्स रे सेवालाई पनि यो वर्षदेखि प्रभावकारी बनाइएको छ । ९ वटा वडा रहेको राप्तीसोनारीमा एउटा आधारभूत अस्पताल रहेको छ भने पाँच वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र र एउटा सामुदायिक स्वास्थ्य इकाई रहेको छ ।

  • ६ मंसिर २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech