नेपालगन्जः जाजरकोटमा १७ गते गएको भूकम्पबाट सुत्केरी र गर्भवतीको विचल्ली भएको छ । भूकम्प गएको दुई साता वितिसक्दा समेत उनीहरुको बास बारीमै छ । चिसोले सुत्केरी, गर्भवती र बच्चाको मुख, आँखा, हातखुट्टा सुन्निएका छन् । कतिपयले न त न्याना लुगा पाएका छन् न त पेटभरि खान नै । सुत्केरी र गर्भवती ४ हजारको बास बारीमै रहेको छ ।
जाजरकोट नलगाड नगरपालिका–७ दल्लीकी एकमहिने सुत्केरी राधिका कुसारीको १६ दिनदेखि बारीमै बास छ । बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षतिग्रस्त घरमा बस्न नमिल्ने भएपछि उहाँ बारीमै त्रिपाल टाँगेर परिवारसँगै बस्दै आएकी हुन्, जसका कारण उहाँको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन् । चिसोले शरीर दुख्नुका साथै रुघाखोकीसमेत लागेको उहाँले बताउनुभयो । ‘मेरो र बच्चाको बिजोग छ,’ उहाँले भन्नुभयो, ‘पर्याप्त खानेकुरा छैन, भएको चामल पनि सकिन थालेको छ । न्याना कपडा छैनन्, रातभर शरीरमाथि शीत चुहिन्छ ।’ चिसोले रुघाखोकी बढेपछि केही दिनअघि बच्चालाई अस्पताल लिएर गएको उहाँले बताउनुभयो ।
भेरी नगरपालिका–४ खलंगामा रहेको एक विद्यालयको त्रिपालमा १९ दिनकी सुत्केरी विमला तिरुवा बसिरहनु भएको छ । दिन जसोतसो घामको सहारामा कटे पनि रात कटाउन मुस्किल परेको उहाँले बताउनुभयो । ‘सुत्ने ठाउँमा शीत चुहिन्छ, चिसोले बच्चा र मलाई स्वास्थ्य समस्या देखिन थालेको छ,’ उहाँले भन्नुभयो, ‘बच्चा र मेरो मुख, आँखा, हातखुट्टा सुन्निएका छन् । न न्याना लुगा पाएकी छु, न पेटभरि खान नै ।’
स्वास्थ्य सेवा कार्यालय जाजरकोटकी प्रमुख डा.प्रतीक्षा भारतीका अनुसार भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा ५ वर्षमुनिका १० हजार ५ सय ६० बालबालिका प्रभावित छन् । यस्तै १३ सय ६० जना गर्भवती भूकम्पबाट प्रभावित भएका छन् भने ९ सय सुत्केरी छन् । अन्य पालिकाको तथ्यांक संकलनको क्रममै रहेको उहाँले बताउनुभयो । रुकुम पश्चिममा ५ वर्षमुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
गर्भवती १ हजार ६८ जना, सुत्केरी ७ सय ३९ जना भूकम्पका कारण प्रभावित भएको कार्यालयका सूचना अधिकारी कालीबहादुर वलीले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर ३ हजार ७ सय ८१ जना ज्येष्ठ नागरिक भूकम्पबाट प्रभावित भएका छन् । ५ सय ९६ दीर्घरोगी र ५ सय १६ अपांगता भएका पनि समस्यामा छन् ।
सल्यानमा भूकम्पबाट ज्यादै प्रभावित दार्मा गाउँपालिका हो । पालिकाले भूकम्पबाट प्रभावित बालबालिका, गर्भवती र सुत्केरीको लगत संकलन जारी रहेको बताएको छ । तीन सयभन्दा बढी बालबालिका प्रभावित भएको अनुमान गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार १ सयको हाराहारीमा गर्भवती र सुत्केरी प्रभावित भएका छन् ।