नेपालगन्जः बर्दिया अस्पताल लुम्विनी प्रदेशमा कार्य प्रगतिको मूल्यांकनमा पहिलो भएको छ । आर्थिक वर्ष २०७९-०८० को सम्पादित प्रगति मूल्यांकनको आधारमा बर्दिया अस्पताल पहिलो भएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुभाष पाण्डेले जानकारी दिनुभयो ।
प्रदेशका १३ अस्पतालमा बर्दिया अस्पताल पहिलो भएको हो । बर्दिया अस्पतालले ७४.६१ अंक ल्याएको छ । त्यसैगरी दोस्रो भएको कपिलबस्तु अस्पतालले ७१.७६ अंक ल्याएको छ । तेस्रो स्थान रहेको लुम्विनी प्रादेशिक अस्पतालले ७०.३६ अंक ल्याएको छ ।
यसैगरी गुल्मी अस्पताल चौथो, भिम अस्पताल पाँचौ, अर्धाखाँची अस्पताल छैठौं, पृथ्वी चन्द्र अस्पताल सातौ भएका छन् । यसैगरी राप्ती प्रादेशिक अस्पताल दाङ आठौं, प्यूठान अस्पताल नवौं, रामपुर अस्पताल ११ औं, पाल्पा अस्पताल १२ औं र रुकुम पूर्व अस्पताल तेह्रौ भएको छ।
अस्पतालले प्रवाह गर्ने सेवाको स्तर, आर्थिक पारदर्शीता तथा सुशासन, नियमित रिर्पोटिङ लगायतका ११ वटा सूचकका आधारमा बर्दिया अस्पताल पहिलो हुन सफल भएको हो ।
कार्य प्रगतिको मूल्यांकनमा उत्कृष्ट हुनेहरुलाई लुम्विनी प्रदेशका स्वास्थ्य सचिव डा.जनार्धन पन्थी र स्वास्थ्य निर्देशक डा.विनोद कुमार गिरीले सम्मानित गर्नुभएको हो । दाङमा दुई दिनसम्म चलेको प्रदेश स्तरीय वार्षिक समीक्षा कार्यक्रममा अस्पतालका प्रमुखहरुले अस्पतालको रिपोर्ट प्रस्तुत गरेका थिए ।