‘क्यान्सर , खानपान र म’ की लेखिका शुभेच्छा घिमिरेलाई सन् २०१६ मा स्तन क्यान्सर लाग्यो । ३२ वर्षको उमेरमा क्यान्सर लागेर थला परेकी उहाँलाई उपचार गर्न मात्रै वर्ष दिन भन्दा बढी समय लाग्यो । देब्रे स्तान काटेर फालेकी उहाँ अहिले सहज र खुशी जीवन बाँचिरहनु भएको छ। उहाँले अहिले पनि वार्षिकरुपमा स्वास्थ्य परिक्षण गराइरहनुपर्छ ।
तपाईंको अनुभवमा क्यान्सर के रहेछ ?
क्यान्सर भनेको शुरुवाती दिनमा डरलाग्दो रोग भन्ने थियो । लागिसकेपछि डर कम भयो । तर उपचारका क्रममा भने गाह्रो हुन्छ । यसबाट निस्किइसकेपछि साधारण जीवन जिइरहेकी छु । अर्कै मान्छे भएर निस्किएँ ।
त्यो समयमा कसरी आफूलाई व्यवस्थापन गर्नुभयो ?
रमइलो वातावरणमा बस्ने, खुशी हुने किताव पढ्ने, रमाइला चलचित्र हेरें । परिवार तथा साथीभाइस“ग नजिक रहें । म भन्दा नाजुक र भावुक मान्छेहरुबाट टाढा रहें । दैनिक ३ वटा राम्रा कुरा लेखेर राख्थें भोलिपल्ट आँखा खोल्दा त्यो पढ्थें । कतिपय अवस्थामा रोए पनि आफूलाई सक्दो बलियो राख्न प्रयास गरिरहें ।
क्यान्सर जित्न मूलतः के कुराको आवश्यकता पर्दोरहेछ ?
औषधी उपचार, माया तथा केयर गर्ने मान्छे, उत्प्रेरणा र आफूमै सकारात्मक सोच हुनु पर्ने रहेछ ।
क्यान्सर रोगलाई सहज ढंगबाट बुझाउन के गर्नु जरुरी छ जस्तो लाग्छ ?
हामीले क्यान्सरको बारेमा थाहा पाउन यसबारे कुरा गर्न थाल्नुपर्छ । तर सुचना कहाँबाट लिएको हो त्यसमा पनि फरक पर्छ । मुभीमा कपाल झरेको मर्न लागेको मान्छे देखाएर क्यान्सर भएको भनिन्छ । तर घरैमा कोही क्यान्सर पीडित हुनुहुन्छ भने या कसैले क्यान्सर जितेर सहज र खुशी जीवन बिताएको छ उनीहरुको कथा सुन्नु जरुरी छ ।
यस्ता रोगप्रति सरकारको नीति कस्तो हुनुपर्ला ?
सरकारले गरिरहेकै छ तर पुगेको छैन । जनचेतनामा पनि ध्यान दिनुपर्छ । मोबाइलको टोन बज्दा, रेडियो, टिभीमा सुचना प्रसारण गरेर पनि सचेतना जगाउन सकिन्छ । यसको उपचार महंगो छ । यसतर्फ पनि सरकारको ध्यान दिनुपर्छ । कसरी मानिस स्वस्थ बस्न सक्छ ? भन्ने तर्फ सोच्नु आवश्यक छ ।