सम्बन्ध कस्तो हुन्छ, कहाँ गएर अडिन्छ केही पत्तो हुँदो रहनेछ। हिजो सिद्दिए भनेका सम्बन्धहरू फेरि पलाएर आउँदा रहेछन्। कहाँ कहाँबाट आफैं जोडिन आउने रहेछन्। एकचोटि गाँसिएको सम्बन्ध भनेको चन्द्रमामा बनेका पाइलाका डोबहरूजस्तै रहेछन् जो कालान्तरसम्म जिउँदै हुँदा रहेछन्।
म आफ्नो एमडी जिपिको अध्ययन सकेर धादिङ जिल्ला आसपास काम गर्दै थिएँ।
चिकित्सकीय कर्महरू मानवीय हुन्छन्, बिरामीको भलोका लागि सधैं लागिपर्छन्। सधैंझैं आफ्नो डे ड्युटी सकेर म खाना खाएर आफ्नो क्वाटरमा विश्राम गरिरहेको थिएँ।
रातको १० बजे अचानक एक जना सिस्टर आएर एक्सिडेन्टको इमर्जेन्सी केस आएको छ भनेर बोलाएर गइन्। म हतार हतार तल ओर्लिहालेँ।
राजमार्ग नजिक भएकाले एक्सिडेन्ट केसहरू अक्सर आइरहन्थे। सडकको नाजुक अवस्था र चालकहरूको लापरबाहीले घटनाहरू दोहोरिरहेका हुन्छन्।
म इमर्जेन्सी वार्डमा पुगेँ। त्यहाँ बसमा सवार भएका धेरै घाइते बिरामीहरू थिए। एक जना सिकिस्त भनिएको बिरामीतर्फ म सोझिएँ। उनको क्षतविक्षत शरीर देखेर धेरै दुखी भएँ। उनी अरू कोही नभएर आरती थिइन्। जो सँगसँगै मर्ने बाँच्ने कसम खाएको थिएँ मैले।
उनको र मेरो रगतको ग्रुप एउटै थियो, एबी नेगेटिभ जुन विरलै पाइन्थ्यो। म नै अग्रसर भएर रगत दिन तयार भएँ। म आफू पनि असिनपसिन भएको थिएँ। हर्टविट मेरो पनि बढिरहेको थियो। डाक्टर आज किन यति आत्तिनुभाछ भनेर सबै छक्क परिरहेका थिए। तर भित्री कुरा आरती र मलाई मात्र थाहा थियो।
आरतीलगायत अरूको समेत इमर्जेन्सी म्यानेज गरेपछि क्वाटरमा पुग्दा रातको ३ बजेको थियो। खासै सुत्न मन लागेन। उनको यादले सताइरह्यो। अहिले कस्तो होला? कहाँ जान हिँडेकी होलिन्? कस्तो संयोगले भेट भयो? जस्ता प्रश्नले मन आत्तिरह्यो।
अनि उनी सँगका विगतका फोटोहरू हेर्न थालेँ। म आफू दलित परिवारमा जन्मिएको मान्छे। बुवाको अघि घुर्की लाएर अनि आमाको मायामा लाडे पल्टिएर गाउँबाट एसएलसी सिध्याएर प्लस टु पढ्न काठमाडौं झरेको थिएँ।
कलेज जान थालेको १०-१५ दिन भएको थियो।
सरकारी स्कुल पढेर आएको म, खासै पढाएको कुरा राम्ररी बुझ्न सकेको थिइनँ। त्यसैले क्लासतर्फ ध्यान नै दिन मन लाग्दैन्थ्यो। बाहिर बाहिर मन जान्थ्यो। सहरका रंगीविरंगीमा मन तानिन्थ्यो।
साथीहरू पनि उस्तैउस्तै थिए। कहिलेकाहीँ त हिँडेरै कोठासम्म पुगिन्थ्यो। सहर कति धेरै झिलिमिली हुने रैछ, भन्ठानेर म हेरिबस्थेँ।
लगभग एक महिना भएको थियो कलेज जान थालेको। एकदिन म घरको गेट खोलेर बाहिर निस्कँदै गर्दा अर्को कोही केटी मेरै कलेजको ड्रेस लगाएर उही घरको गेट खोलेर आए जस्तो मानेँ। अनि यसो फर्किएर हेरेँ। नभन्दै रैछ। अझ तिनी त घरबेटीकी छोरी पो रैछिन्। एकचोटि छतमा लुगा सुकाउन जाँदा देखादेख भए पनि बोलचाल भएको थिएन।
म अलि सुस्तो सुस्तो हिँडें। उनले मलाई भेट्टाइन्। मसँगै हिँड्छिन् कि अगाडि जान्छिन् भन्नेमा ठूलो दुविधा थियो। धन्न उनी मेरै गोडाकै चालमा चाल मिलाएर विस्तारै हिँड्न थालिन्। म पनि के कम अनि त बोल्न सुरू गरिहालेँ।
म र आरती एउटै ब्याचमेट रैछौं। सेक्सन मात्र फरक। अब जाँदा आउँदा हामीसँगै हुने भयौं। गेटबाट निस्किँदा सँगै ननिस्किए पनि गाडी कुर्दासँगै हुने भयौं। सिट ओगटेर राख्दिने भयौं।
विस्तारै विस्तारै हामी धेरै नजिकियौं। प्रणयमा फस्यौं।
प्लस टुपछि म एमबिबिएस पढ्न छात्रवृत्तिमा नाम निकालेर आइओएमको होस्टल बस्न थालेँ। भेटघाट बाक्लियो। थर्ड इयरपछि क्लिनिकल पोस्टिङका दिनहरू थिए ती। जब ऊ हिपोक्रेट्सका ओथहरूमा मुनामदनका भाकाहरू मिसाउथी। ऊ मेरो सेतो एप्रोनको खल्तीमा आफ्नो सपना लुकाउथी। इस्थेत मेरो कानमा घुसारी आफ्नो ढुकढुकी सुनाउथी। ऊ मलाई भेट्न बिरामी भएको नाटक गर्थी अनि हस्पिटल धाउथी,ओपिडीमा डेटिङ गरेर भ्यालेन्टाइन डे मनाउँथी, बिरामीको हिस्ट्री लिने कागजमा प्रेम पत्र छपाउँथी, मैले पढ्ने ह्यारिसन र डेभिड्सनमा आफ्ना तस्बिर लुकाउथी।
उनले एकदिन हामी दुवै जना प्रेममा रहेको कुरा घरमा सुनाइछन्। आरतीको बुवा एकदिन होस्टलमा नै आएर सबै साथीहरूको सामुन्ने ‘तँ तल्लो जात भएर हामीसँग साइनो गाँस्न खोज्छस् भन्नुभो!’। मेरो मन त्यही दिनदेखि खिन्न भएर आयो। साथीहरूले पनि सम्बन्ध अघि नबढाउन सुझाव दिए।
आरतीले यो खबर थाहा पाएपछि उनी देश नै छोडेर युके जानका लागि एकदम तयार भइन्। आफ्नै परिवारको त्यो व्यवहारप्रति आरती सन्तुष्ट थिइनन्। त्यसपछि हाम्रो बोलचाल पातलियो, म पढाइमा व्यस्त हुन थालेँ।
***
बिहान भइसकेछ। भाले बास्यो। म हतार हतार आरतीको स्वास्थ्य अवस्था बुझ्न तल झरेँ। नर्मल वार्डमा उनी अश्रुधारा बगाउँदै बसिरहेकी थिइन्।
हिजो भएको घटनामा घटनास्थलमा नै मृत्यु हुनेमा ५ जना थिए। जसमा आरतीका श्रीमान पनि परेका रहेछन्। सायद आरतीले सबै कुरो पत्तो पाइन्। मैले पनि यो खबर पाएपछि चोटैचोट खपेर उनलाई भेट्न पुगेको थिएँ। युके पुगेपछि उनले आफूखुसी एक जना केटासँग बिहे गरेकी रैछिन् र साथीको बिहे निम्तो मान्न नेपाल आएका उनीहरू, काठमाडौंबाट चितवन जाँदा यो दुर्घटना भएको रहेछ।
आरती निकै कमजोर भएकी थिइन्। हातखुट्टाका हड्डी भाँचिएर प्लास्टर गरिएका थिए। ह्विलचेयरमा बसेर बिहानपख मैले अस्पताल वरपर डुलाउने गर्थें। मैले नै खाना पकाएर उनलाई खुवाउने गर्थें। अरूका आफन्तहरू आए पनि उनको कोही आएको थिएन सायद भगवानले पनि म छु भनेर एक्लै छोडिदिएका होलान् जस्तो लाग्यो।
हरेक बखत आरती मलाई ‘यति धेरै त्याग मप्रति किन गरिराछौ?’ भनेर गुनासो गर्थिन्।
बोल्दाबोल्दै आँखाबाट असार बर्सिन्थ्यो उनको। दैवको खेल यस्तै हुँदो रैछ भन्दै हाम्रा विगतका रमाइला क्षणहरू उनलाई सम्झाउन खोज्थें।
धेरैदिन अस्पतालमा बिताएपछि डिस्चार्ज गर्ने दिन पनि आयो। उनको जन्म दिने बुवा उनलाई लिन आए। गल्ती भयो डा साब भन्दै आरतीको बुवाले माफी माग्नुभयो।
मैले विगतको त्यो होस्टलमा घटेको अप्रिय घटना चाहेर पनि सम्झन सकिनँ। अब आरती एक्लो भएकी थिइन्। कसरी बाँच्लिन्? के गर्लिन्? भन्ने पिरले म आफैं बिरामी परूँलाझैं भाको थिएँ। अस्पतालबाट छुट्टिँदा बुवा र आरती दुवैका आँखामा आँसुहरू छछल्किएका थिए जसलाई हेर्नुबाहेक मैले अरू केही गर्न सकिनँ।