नेपालगन्जः पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सम्झौता भएको २४ घण्टा नबित्दै स्वास्थ्यकर्मीमाथि फेरि आक्रमण भएको भन्दै त्यसलाई रोक्नका लागि गर्नुपर्ने कामबारे सुझाव दिनुभएको छ ।
स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा किन्तु परन्तु केही नभनीकन जेल विथआउट बेलु हुन्छ भन्ने डर नहुँदासम्म यस्ता घटना दोहोरिरहने उहाँको भनाइ छ ।
नेपाली कांग्रेसका सांसद समेत रहनु भएका थापाले घटना भएपछि आन्दोलन हुने र सम्झौता पनि हुने तर सम्झौताको कार्यान्वयन नहुने प्रवृत्ति रहेको बताउनुभयो । उहाँले डाक्टरमाथिको आक्रमण रोक्न स्वास्थ्य संस्थाको सेवा प्रवाह क्षमता पनि बढाउनुपर्ने बताउनुभयो।
२०७३ मा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र गगन थापा स्वास्थ्यमन्त्री भएको बेलामा थापाले सात वर्षे एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना र मापदण्ड बनाउनुभएको थियो।
उक्त मापदण्डमा सात वर्षभित्र देशमा कति डाक्टर तथा नर्स लगायतका स्वास्थ्य जनशक्ति आवश्यक पर्ने र कसरी पूर्ति गर्ने, आवश्यकता अनुसार अस्पतालहरू निर्माण गर्ने लगायतका योजना थिए। तर सरकार फेरिएसँगै त्यो योजना अलपत्र परेको छ।