नेपालगन्जः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिनुभएको छ ।
कुनै समय भौगोलिक रुपले विकट रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुगेर डा केसीले विगत तीन दिनयता निःशुल्क स्वास्थ्य सेवा दिइरहनु भएको छ। महाकाली नदी पारिको नगरपालिकामा अझै स्वास्थ्य सेवा सुलभ हुन नकसकेका बेला डा केसी स्थानीयस्तरमै सेवा दिन आएको खबरले सेवा लिनेहरुको भीड लागेको छ।
दोधारा चाँदनी अस्पतालबाट सेवा दिन थालेका डा केसीले पहिलो दिन एक सय ८४ जनाको स्वास्थ्य जाँच गरेको अस्पतालका अध्यक्ष एवं नगर प्रवक्ता ओम बस्नेतले जानकारी दिनुभयो। हाडजोर्नीका बिरामीलाई जाँच गरिरहेका डा केसीलाई अस्पतालका अन्य चिकित्सकहरुले पनि साथ दिएको अध्यक्ष बस्नेतको भनाइ छ।