प्रिय आमा प्रणाम!
आमा हजुरको त भाग्य नै खोटी रहेछ,
न त तपाईंले सुख पाउनु भयो न त तपाईंको गुणगान भयो त्यो समाजमा। त्यसैले होला जे-जे दुख पाउनुभयो त्यो सबै मेरै कारण थियो। हुन त मलाई एउटा गीतको याद आयो जुन गीत म हजुरको पाठेघरमा हुँदा हजुरले गुन्मुनाइरहनुहुन्थ्यो र त्यो थियो- ‘न दोष तिम्रो, न दोष मेरो, दोषी त हाम्रो नजर थियो’। हो आमा तपाईंले जुन गीत सुनिराख्नु हुन्थ्यो नि त्यो गीत मात्र तपाईं र मेरो लागी बनाएको हुन पर्छ। दोष न त तपाईंको नै थियो न त मेरो नै थियो दोष त केबल म छोरी भएकै कारण तपाईलाई अपहेलित गर्ने समाजसँगै मेरो उत्पतिको लागि बिउ रोपिदिने मैले भन्न नसकेका बा र सन्तान नै नरहने भयो अब हाम्रो भन्ने सोच भएका हजुरबुबा र हजुरआमा र समाजको नजर प्रति थियो। तपाईंका अनगिन्ती सपनाहरू उथलपुथल गरिदिने म नै हो आमा। हामी अब छोरा जन्माउनपर्छ है भन्ने मेरा बाले मेरी आमाको आफ्नै घर (पाठेघर) लाई बच्चा उत्पादन गर्ने फ्याक्ट्री त ठान्नुभयो तर आमाको घर ५ वर्षसम्म छोडेको घरमा फर्कि आउँदा जस्तो जिर्ण देखिएको हुन्छ त्यस्तै भताभुङग होला कहिल्यै सोच्नु भएन।
दोष शुक्रकिटको हो तर यहाँ तपाईंको पाठेघरमा बसेकी लक्ष्मी यानिकी म छोरीको हत्या गरियो। मेरी आमाको शरीर आफ्नो हो कि हैन भन्ने अवस्थामा पुग्लिन कि भन्ने कहिल्यै बुझेनन्, मलाई बाहिरी संसार देखाउन नपाइ मिल्काउदा मेरो अपमान भएको कहिल्यै बुझेनन्। कता कता गाँइगुईं यो पनि सुनेकि थिए कि म जन्मेको देशको सरकारले भ्रुण हत्या गर्न रोक लगाएको छ रे। त्यति हुँदाहुँदै पनि कसैको सन्तान टिकाउन समस्या हुने र कसैले पैसा कमाउने स्वार्थको दलदलभित्र मलाई जाल हालेर फसाउने कोसिस गरियो। यो लाग्थ्यो कि मेरी आमाले मलाई बचाउने हरेक कोसिस गर्नेछिन तर मेरि आमा पनि बाबा र त्यो छोरो नभइ नहुने नजर भएका समाजको अगाडि केहि बोल्न सक्नुभएन, आमा मलाई थाहा छ तपाईंंको मनमा उब्जेका हरेक कुरा हरु। घरि मलाई बचाउन खोजेका प्रयासहरु, पाठेघरबाट अन्तेष्टि गर्दा खपेका पिडाहरु, मैले भरिएको घर खालि गर्दा तपाईंले आफ्नै घर (पाठेघर ) को पनि भाडा तिर्नपरेको थियो। जस्ले तपाईंको घर खाली गरिदिए तिनिहरुले नै हैन र आमा तपाईंलाई भाडा तिर्नपर्ने? तर यो हैन रहेछ म केबल तपाईंलाई नै दुख, कष्ट रोग र ब्याध निम्त्याउन तपाईंको कोखमा बास बस्न सफल भएकि रहेछु। तपाईंले मलाई कोठाबाट बाहिर निकाल्दाको पिडा अहिले पनि महसुस गर्न सक्छु साँच्चिकै संसार देखाउनुहुन्थ्यो भने त मेरो सरिर एक्लै एकै पटक आउथे होला मेरो खुसीले आउथे होला तपाईंलाई पिडा त हुन्थ्यो होला तर पिडासँगै खुसी पनि लिएर आउँथे होला।
यो एक मनले भन्छ आमा तपाईंले जे गर्नुभयो ठिक गर्नुभयो राति राति त्यो समाज र बाबाले दियको टचरले सिरानी भिजेको पनि तपाईं पत्तै पाउनुहुन्थेन। आफ्नो मनको बेदना पोख्न खोज्दा आफ्नै साथिले हैन एउटा छोरा त जन्माउनै पर्छ है सन्तान त राख्नुपर्यो नि भन्नेको ताति लागेको थियो। सन्तान राख्न परेन? भनेर प्रश्न खडा गर्ने समाजमा हजुर भएकै कारण तपाईं जुन संसारमा हुनुहुन्छ हो त्यही संसारमा मैले मौलाउने वातावरण पाइन आमा। घरमा मलाई हुत्याउने निर्णय गर्दै गर्दा मेरो मुटुको चाल बढेको थियो र तपाईंको पनि तर के गर्नु यो हजुरको एक्लो निर्णय पक्कै पनि थिएन आमा। एउटा छोरीले पनि आमा बाउको लागी केहि न केहि गर्न सक्छ, छोराले भन्दा बढी माया, ममता, सद्भाव, अनि सहयोग पनि छोराले जत्तिकै गर्न सक्छ भन्ने कुरा किन हजुर बसेको समाजले बुझेन आमा? मलाई पनि दिदीले झै हजुरको कोखमा जन्म लिएर बा र आमाको सहारा बन्ने मन थियो। समाजको उदाहरणिय छोरी बन्ने मन थियो।
मलाई समाप्त गर्दैगर्दा मेरी आमाको योनीबाट नरोकिने गरि बगेको रगत, मेरो शरीरको सबै भाग बाहिर आउन नसक्दा अस्पतालको बेडमा छट्पटी गरिरहेकि मेरी आमा, तेहि छुटेका शरीरको भागहरु स्वास्थ्यकर्मीले टुक्राटुक्रा गरेर निकाल्दै गर्दा मेरी आमालाई भएको पिडा, तिनै टुक्रा निकाल्ने क्रममा भएको मेरि आमाको पाठेघरको दुखाइ र एकोहोरो बगेको रगतले मेरो मन कहाँ नपोलेको हो र मेरी आमा? त्यति मात्र कहाँ हो र अस्पतालबाट मेरो अन्त्येष्टि गरि घरमा आएको केहि दिनपछि मेरी आमाको पाठेघरको संक्रमणले गर्दा थला परेको र अनि भने जति पोषणयुक्त खाना खान नपाएकै कारण आमाको जिउ ज्यान लथालिङ्ग बनेको पनि मै एउटा नालाएक छोरीको पाठेघरमा आगमन भएकै कारण त हो?
आमा मलाई बाकि हजुरसँग केही गुनासो छैन गुनासो छ त केबल मेरा यहि कुरामा छ कि मेरी आमालाई सधै छोरी मात्र जन्माउन थाली भन्न भ्याउने समाजले छोरी जन्मिनुको मुख्य कारण मेरो बाबा हो यानिकि छोरी जन्मिनु दोष आमाको हैन बाबाको हुन्छ भन्ने कुरा किन थाहा पाएन होला? फलानीको त दाजु भाइ पनि छैनन् अब त्यसको छोरा पनि जन्मिदैन भन्ने समाजले छोरीले पनि यो समाजमा छोरा जत्तिकै कर्तब्य निर्वाह गर्न सक्छ भन्ने कुरा किन बुझेन? भ्रुण हत्या गर्दैगर्दा आमाको स्वास्थ्य अवस्थामा समस्या आउछ भन्ने कुरा यो समाजले किन बुझेन? कैयौं पटकको भ्रुण हत्या गरेकै कारण मेरी आमाको पाठेघरमा असर परी अर्को बच्चा समेत बस्न नसक्ने कुराको ज्ञान किन भएन? छोरा पाउँछु भन्दा भन्दै दश पटक सम्म भ्रुण हत्या गरेर अन्त्यमा आफ्नो पाठेघरबाट धेरै रगत बगेको र त्यसपछि भएको संक्रमणको कारण मृत्युुवरण गर्न पुगेकी छिमेकी आन्टिको अवस्थालाई किन नियाल्न सकेन यो समाजले र अझै पनि छोरा खोज्दैछ? मेरी आमा मेरा प्रश्नहरु यीनै हुन। सक्नुहुन्छ भने तपाईं, बाबा, हजुरबुबा, हजुरआमा र त्यो समाजको छोरी प्रती हेर्ने दृष्टिकोणलाई परिवर्तन गरिदिनुहोला बिन्ति छ आमा।
उही हजुरकी जन्मिन नसकेकी छोरी भ्रुण समाप्तिका…