वर्तमानमा बाँच्न सिकाउने माइन्डफुलनेस

    • अनिल ढकाल/ योग प्रशिक्षक

  • ६ भाद्र २०८०, बुधबार

हामी हरेक दिन नयाँ कुरा सामना गर्छौं । कतिपयले जीवनमा आइपर्ने घटनालाई सहजै रूपमा स्विकारेका हुन्छन् । कतिपयलाई यस्ता घटना र परिघटनाले नर्भस बनाउँछ । व्यस्त दुनियाँमा घर, कार्यालय वा सम्बन्धमा आउने उतारचढावले मानिसलाई तनाव दिइरहेको हुन्छ । तनावको असर मानसिक मात्र नभई शारीरिक रूपमा पनि पर्छ । बालबालिका, वयस्क वा वृद्धवृद्धा जुनसुकै उमेर समूहका व्यक्तिमा पनि तनाव हुन्छ । तर, हामी तनावबाट टाढा भाग्न सक्दैनौँ । यसलाई व्यवस्थापन गर्न भने सकिन्छ ।

तनाव व्यवस्थापनका लागि माइन्डफुलनेस एउटा राम्रो विधि हो । माइन्डफुलनेस भनेको स्पष्ट रूपमा हेर्न र वर्तमान क्षणमा हाम्रो जीवनमा के भइरहेको छ भनेर अनुभव गराउने एउटा विधि हो । यसले हामीलाई नकारात्मक सोचबाट टाढा लैजान्छ । आत्मविश्वास बढाउँछ । आफ्नो बारेमा पूर्ण सचेत रहँदै वर्तमानमा जिउने कला यसले सिकाउँछ । धेरै अध्ययनले माइन्डफुलनेसलाई लाभदायक मानसिक स्वास्थ्य अभ्यास भनेका छन् ।

माइन्डफुलनेसले चिन्ता र डिप्रेसन कम गर्न सक्छ, तपाईंको प्रतिरक्षा प्रणालीलाई बढावा दिन्छ, दुखाइ व्यवस्थापन गर्न मद्दत गर्दछ, तपाईंलाई अस्वस्थ बानी र लतबाट छुटकारा दिन, अनिद्रालाई शान्त पार्न, उच्च रक्तचाप कम गर्न र तपाईंको मस्तिष्कको संरचना र कार्यलाई सकारात्मक रूपमा परिवर्तन गर्न मद्दत गर्दछ ।

यसको नियमित अभ्यासले मानिसको स्मरणशक्ति पनि बढेर जान्छ । मानिसले आफूले चाहेको कुरामा आफ्नो ध्यान लामो अवधिसम्म केन्द्रित गर्न सक्छ । खराब विचारबाट टाढा राखेर आफूलाई मन पर्ने कुरामा केन्द्रित गर्न सक्छ ।

माइन्डफुलनेसले आफ्ना भावनालाई राम्रोसँग बुझ्न, अप्ठ्यारा सोचहरूलाई सामना गर्न, शान्त रहन, ध्यान वृद्धि गर्न तथा सम्बन्धमा सुधार ल्याउन सहयोग गर्ने बेलायतको मेन्टल हेल्थ फाउन्डेसनको निष्कर्ष छ ।

तनावसँग सामना गर्ने उत्तम तरिका भनेको दिनमा कम्तीमा सात घन्टा सुत्नु, फलफूल तथा हरियो सागपातयुक्त आहार खानु, नियमित व्यायाम गर्नु, ध्यान गर्नु र सामाजिक रूपमा जोडिनु हो । जसले जीवनको चुनौतीपूर्ण परिस्थितिहरूमा अनुकूलन गर्न सक्षम बन्न मद्दत गर्दछ ।

हामी माइन्डफुल भएर जगरुक अवस्थामै रहनुपर्छ । जागरुक अवस्थामा रहन तपाईंले जीवनमा जे कुरा गरिरहनुभएको छ, त्यसलाई साक्षी भावले लिनुपर्छ । जस्तै, हामीले एउटा काम गरिरहेका हुन्छौँ, तर सोच विभिन्न कुरामा दौडिन्छ, एकाग्रता हुन सकिँदैन । जुन कार्य गरिरहेका छौँ, त्यसमा सफल हुन सकिँदैन । त्यसैले दिमागलाई शान्त राख्न माइन्डफुलनेसको आवश्यकता पर्छ । मानिस माइन्डफुल हुन सिक्यो भने ध्यान गरेजस्तै हुन्छ । जिउन सजिलो हुन्छ । हामीले गरिरहेको कामलाई होसपूर्वक गर्ने कलालाई माइन्डफुलनेस भनिन्छ ।

हाम्रो जीवनमा भएका तनाव, डिप्रेसन, एन्जाइटीलाई माइन्डफुलनेसको अभ्यासमार्फत कम गर्दै लग्न सकिन्छ । यसले ध्यानमा लैजान्छ । बिस्तारै जीवन परिवर्तन गर्न साधनाको रूपमा विकास हुन्छ । नकारात्मक सोच, कुण्ठा, इष्र्या, रिसलगायत  कुराबाट मान्डफुलनेसले अलग राख्छ ।

  • ६ भाद्र २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech