आजभोलि करिअरतिर केन्द्रित हुँदा ३० वर्षको उमेरपछि मात्रै विवाह गर्नेहरुको संख्या बढ्दो छ । विवाहपछि एकअर्कालाई बुझ्न एक वा दुई वर्ष बित्छ र गर्भवती हुँदा उमेर ३० वर्षमाथि नै पुग्छ । यस्तो अवस्थामा महिलाहरु आफ्नो स्वास्थ्यको बारेमा चिन्तित हुन्छन् । अझ ३५ वर्षको उमेरमा वा वरपर आमा बन्ने सोच राखेकाहरुमा स्वास्थ्य जटिलता बढी देखिन सक्छ । यस्तो अवस्थामा स्वास्थ्य अवस्था, खानपानदेखि धेरै पक्षमा ध्यान दिनुपर्ने हुन्छ ।
हरेक महिला निश्चित संख्यामा अण्डा लिएर जन्मिन्छन् । उमेर बढ्दै जाँदा अण्डाको क्षमता स्वतः घट्न थाल्छ । ३० वर्षसम्म उच्च दरमा अण्डा उत्पादन हुन्छ । त्यसपछि अण्डा निस्कने संख्यामा मात्र होइन, गुणस्तरमा पनि कम हुँदै जान्छ । यसले प्रजनन् क्षमतामा पनि ह्रास आउन थाल्छ ।
तर यसो भन्दैमा सन्तान जन्माउनै नसक्ने भन्ने होइन, महिनावारी नसुक्ने समयसम्म महिलामा गर्भ रहन सक्छ । तर यसबेला सम्भावना न्यून चाहिं हुन्छ । बचेको अण्डाबाट गर्भवती हुन समस्या हुने, सन्तान जन्मिए पनि कम तौल, मितिअघि नै व्यथा लाग्ने, शिशुमा डाउन सिन्ड्रोम हुने जस्ता समस्या देखिन सक्छ । यस्तोमा स्वस्थ सन्तान जन्माउन पूर्वतयारीको लागि विभिन्न स्वास्थ्य जाँच गर्नुपर्छ ।
के कस्ता स्वास्थ्य जाँच गर्ने ?
सन्तानको योजना बनाउनुपूर्व चिकित्सकलाई भेट्ने
सन्तानको योजनापूर्व चिकित्सकसँग परामर्श लिएमा आउन सक्ने जटिलता रोकथाम केही हदसम्म गर्न सकिन्छ । चिकित्सकले स्वास्थ्य अवस्थाबारे बुझेर के गर्न सकिन्छ भनेर सल्लाह दिन्छन् । यसलाई प्रि-कन्सेप्सन काउन्सलिङ पनि भनिन्छ । यसमा उमेर, महिनावारी चक्र, दीर्घरोग, परिवार नियोजनका साधन प्रयोग, वंशाणुगत रोगबारे बुझिन्छ ।
पहिला पनि प्रयास गर्दा सन्तान नजन्मिका दम्पतीलाई आईभीएएफ प्रक्रिया अपनाउन सल्लाह दिइन्छ । यद्यपि, कुनै समस्या नदेखिए प्राकृतिक तरिकाबाट एक वर्ष कुर्न लगाइन्छ । ३५ वर्ष कटेपछि मात्र होइन सन्तानको योजना बनाउनुअघि चिकित्सकसँग सल्लाह लिनु अनिवार्य छ ।
अण्डाको स्थिति र हार्मोनल जाँच
अण्डाको स्थिति र हार्मोनल स्थिति जाँच गराउनुपर्छ । किनभने उमेर बढ्दै गएपछि अण्डाको गुणस्तर कम हुँदै जाँदा यसको संख्या पनि घट्दै जान्छ । चिकित्सकले अण्डाको गुणस्तर र संख्या बढाउने औषधि दिन सक्छन् । गर्भ बस्न समस्या भएका महिलाको पाठेघरको बनावटमा परिवर्तन भएको छ वा त्यसमा ट्युमर पलाएको छ वा छैन त्यो पनि हेरिन्छ । कहिलेकाहीं ट्युमरले गर्दा पनि गर्भ रहन समस्या हुन सक्छ ।
अण्डा, हार्मोन, पाठेघरको अवस्था ठीक छ भने प्राकृतिक तरिकाबाट सन्तान जन्माउन सकिन्छ । यसमा केही त्रुटि आएमा आईभीएफ विकल्प बन्न सक्छ ।
मधुमेह र उच्च रक्तचाप
गर्भधारण गर्नुभन्दा अगाडि नै महिलाले मधुमेह र उच्च रक्तचाप छ कि भनेर जाँच गर्ने गर्नुपर्छ । उमेर बढ्दै गएपछि स्वत: दीर्घरोग थायराइड, मधुमेह र उच्च रक्तचापको जोखिम बढ्ने सम्भावना हुन्छ । किनकि यी दुई दीर्घरोगको स्तर बढेमा यस्तोमा गर्भ रहन र रहे पनि शिशुलाई जोखिम हुन सक्छ । स्तरको असन्तुलन देखिएमा औषधिले नियन्त्रण गर्न लगाएर मात्र योजना बनाउनु उचित हुन्छ ।
थाइराइड परीक्षण
कतिपय महिला सुरुमा गर्भवती भइसकेपछि मात्रै आफूलाई थाइराइड देखिएको भन्दै उपचारका लागि जान्छन् । तर सन्तान जन्माउनुपूर्व थाइराइड जाँच गराए यसबाट निम्तिने जटिलता कम हुन सक्छ । किनभने बच्चाको मस्तिष्कको विकासमा आमाको थाइराइडको महत्वपूर्ण भूमिका हुन्छ । सामान्य अवस्थामा भन्दा कम थाइराइड उत्पादन भएका महिलाहरुको बालबालिकामा मस्तिष्कको पर्याप्त विकास नहुन सक्छ । त्यसैले गर्भवती हुनुअघि नै समस्या देखिएमा औषधि दिएर उनीहरुलाई सामान्य अवस्थामा ल्याउने कोसिस गरिन्छ । त्यसपछि मात्रै गर्भवती बन्न सल्लाह दिइन्छ ।
त्यसबाहेक मूत्र परीक्षण, शरीरको बीएमआई, रगत परीक्षण, भिटामिन बी, हेमोग्लोबिन काउन्ट, रक्तअल्पता, आरएच फ्याक्टर, रुबेला, क्षयरोग लगायतको जाँच आवश्यक छ ।
पुरुषको पनि स्वास्थ्य परीक्षण
आजभोलि वैदेशिक रोजगारमा जानेहरुको उच्च तापक्रममा काम गर्ने आधुनिक खानपान, मदिरा, सुर्तीजन्य पदार्थको सेवन, विलासी जीवनशैलीले वीर्यको गुणस्तरमा ह्रास आइरहेको छ । त्यसैले पुरुषको कारण पनि कहिलेकाहीं गर्भ रहनमा समस्या आउन सक्छ । त्यसैले दम्पतीले नै योजनापूर्व बराबर स्वास्थ्य जाँच गर्न आवश्यक छ ।
जीवनशैलीमा सुधार
स्वास्थ्य परीक्षणसँगै दम्पतीले जीवनशैलीमा सुधार गर्न पनि आवश्यक छ । गर्भावस्थामा धेरै क्याफिन सेवन गर्नु राम्रो मानिंदैन । कहिलेकाहीं यसको अत्यधिक सेवनले गर्भपातको सम्भावना पनि बढाउँछ । ३५ वर्षपछि गर्भावस्था पहिले नै जोखिमपूर्ण मानिन्छ । यस्तो अवस्थामा क्याफिनबाट टाढा रहनु राम्रो हुन्छ ।
अत्यधिक तौलले उच्च रक्तचाप, मधुमेहजस्ता समस्या आउनुका साथै समयपूर्व सुत्केरी हुने जोखिम पनि बढाउँछ । तौल नियन्त्रण गर्न दैनिक केही समय हिंड्नुपर्छ । हल्का स्ट्रेचिङ वा त्यस्ता हलका व्यायाम गर्न । तर विज्ञको सल्लाहबिना कुनै पनि व्यायाम गर्नु उचित हुँदैन ।
योग र ध्यानले मानसिक शान्ति दिनुका साथै सन्तुलित आहारका लागि प्रोटिन, भिटामिनयुक्त खानेकुरालाई आहारमा समावेश गर्नुपर्छ । त्यस्तै रक्सी र चुरोट पिउने बानी भए छोड्नुपर्छ ।
(स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा.सुवेदी नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत हुनुहुन्छ।)