नेपालगन्जः अटिजम भएका बालबालिकालाई लक्षित गरेर आजदेखि नेपालगन्जमा फिजियोथेरापी सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरमा म्याजिक टच नाम दिइएको अटिजम फिजियोथेरापी पश्चिम नेपालमै पहिलो हो । भारतीय चर्चित अटिजम फिजियोथेरापिष्टबाट संचालनमा ल्याइएको उक्त सेन्टरको समन्वयकारी भूमिका नेपालगन्ज मेडिकल कलेजका बरिष्ठ फिजिसियन डा. असिम किदवाईले गर्नुभएको छ । आज एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य डा.धवल शम्शेर राणा, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा एम किदवाईले संयुक्तरूपमा फिजियोथेरापीको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा.राणा, पूर्व मन्त्री राई, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई लगायतले अटिजम भएका बालबालिकालाई लक्षित गरेर संचालनमा ल्याइएको फिजियोथेरापीले लक्षित बालबालिकालाई ठूलो राहात दिने विश्वास व्यक्त गर्नुभयो । अटिजम फिजियोथेरापिष्ट डा. मोहम्मद इरफान नेतृत्वको टीमले उक्त फिजियोथेरापीमा सेवा दिनु हुनेछ । उक्त किसिमको थेरापी यस क्षेत्रमा नहुँदा उपचारका लागि भारतको लखनउ वा काठमाडौं जानु पर्ने अवस्था थियो ।
नेपालगन्जमै फिजियोथेरापी खुलेपछि लक्षित बालबालिकालाई धेरै राहात मिलेको डा. असिम किदुवाईको भनाइ छ । बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरू भन्छन्, ‘समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ, तर यो रोग नभएर बालबालिकाको मस्तिष्क विकासका क्रममा आउने समस्या हो ।’
यसलाई ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ पनि भनिन्छ । अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य देखिए पनि सामाजिक तथा सञ्चारसम्बन्धी सीप सिकाइको क्षमता कम हुन्छ । जसले गर्दा उनीहरू कक्षामा पनि आफ्ना अरू साथीहरूका तुलनामा कम बुझ्ने हुन्छन् ।
अटिजमको कुनै औषधि छैन । यसको मुख्य उपचार भनेको थेरापी नै हो । व्यवहार थेरापी सबैभन्दा उत्तम हुन्छ । त्यसैले अभिभावकले यससम्बन्धी थेरापी लिनु आवश्यक छ भनिएको हो । अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, संगीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ ।
यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरू रमाउने र खुसी हुने, उनीहरूलाई आराम दिने र यसका कारण उनीहरूमा रोग–प्रतिरोधक क्षमताको पनि विकास गर्न मद्दत पुग्दछ ।