कोहलपुर आयुर्वेदिक औषधालयप्रति आकर्षण बढ्यो

    • स्वास्थ्य पेज

  • १० श्रावण २०८०, बुधबार

आरती कट्टेल ।

कोहलपुर: कोहलपुर वडा नं. ११ मा निवासी रमेश प्रसाद श्रेष्ठ नसा सम्बन्धी रोगबाट पीडित हुनुहुन्छ । लामो समयदेखि नसाको समस्याले सताएपछि नेपाल मात्र नभई भारतमा विभिन्न अस्पतालसम्म धाउनुभयो ।

जुन हस्पिटलमा उपचार गराउँदापनि निको नभएपछि उहाँ कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको आयुर्वेदिक औषधालयमा पुग्नुभयो । आयुर्वेदिक अस्पतालमा उपचार गर्न सुरु गरेपछि निकै सुधार हुँदै गएको उहाँको अनुभव छ । त्यस्तै मुगु जिल्लाकी मोतिसरा विश्वकर्मामा हातखुट्टा दुख्ने समस्या छ ।

जसका कारण उहाँ उपचारको लागि कोहलपुर झर्नुभयो। र अहिले आयुर्वेदिक अस्पतालबाट सेवा लिइरहेकी उहाँ यहाँको सेवाबाट निको हुँदै गएको अनुभव सुनाउनु हुन्छ । रमेश र मोतिसरा जस्तै धेरै बिरामीहरु अहिले आयुर्वेदिक अस्पतालमा उपचार गराइरहेका छन् । औषधालयमा नि:शुल्क सेवा पाउने भएपछि धेरैको रोजाइ आयुर्वेदिक बनेको हो ।

आयुर्वेदिक औषधालयप्रतिको बढ्दो बिश्वास र भरोसाले पनि यहाँ बिरामीको चाप बढेको अस्पतालका शाखा प्रमुख उदिप श्रेष्ठको भनाइ छ । नगरभित्रका मात्र नभई जिल्लाका विभिन्न पालिकाहरूबाट दैनिक जसो बिरामीहरू आउने गरेको श्रेष्ठ बताउँनुहुन्छ । अहिले आयुर्वेदिक अस्पतालले प्रदान गर्दै आएको सेवा जेष्ठ नागरिक मैत्री रहेको अस्पतालका शाखा प्रमुख श्रेष्ठ बताउँनुहुन्छ ।

अस्पतालसम्म पुग्न असहज हुने अथवा हिड्न नसक्ने जेष्ठ नागरिकहरूलाई घरमै पुगेर सेवा दिइने हुँदा उनीहरू निकै नै खुशी हुने गरेको बताउँछन । कोहलपुर नगरभित्र रहेको आयुर्वेदिक औषधालय जिल्लाको एकमात्र सरकारी अस्पताल हो । कोहलपुर नगरपालिकाको स्वामित्वमा रहेको औषधालयले शिविर तथा घरदैलो सेवाहरू प्रदान गर्दै आएको छ ।

पछिल्लो समयमा उपचारका लागि आउने विरामीहरूको चापमा वृद्धि हुँदै गएको उहाँको भनाइ छ । उहाँका अनुसार अधिकांस बिरामीहरू रुघाखोकी, नसा, पायल्स फिस्टुला, पेट, बाथरोग आदी रोगका समस्या लिएर चेकजाँच गर्नका लागि आउने गरेका छन् । यस आर्युवेदिक औषधालयबाट विभिन्न २३ प्रकारका औषधिहरू नि:शुल्क पाइने गरेको पनि श्रेष्ठले बताउँनुहुन्छ ।

जेष्ठ नागरिकहरूको लागि स्वास्थ्य प्रबद्र्धन कार्यक्रम र त्यस अन्तरर्गत रसायन औषधि इम्युनिटी पावर कम भएकालाई बढाउने कार्यक्रम, बाथरोगको समस्या भएकाहरूको लागि पन्चकोष कार्यक्रम अन्तरर्गत पुर्वक्रम सेवा स्टिमबाथ हातखुट्टा दुख्ने नसा सम्बन्धी समस्या भएकाहरूलाई २ प्रकासको सेवा, ओपिडी सेवा, बच्चा जन्मेपश्चात् ५ महिनासम्मको बच्चालाई स्तनपाई सेवा औषधालयले दिने गरेको छ ।

आयुर्वेदिक औषधालयले नगर भित्रका वडाहरूमा स्वास्थ्य शिविरका साथै योग शिविर पनि संचालन यर्दै आएको छ । यहाँ उपचार गराउन गएका बिरामीहरू सन्तुष्ट रहेका छन् । अस्पतालमा जनशक्ति अभावका कारण भने उपचारमा समस्या रहेको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन स्थानिय सरकारले आवश्यक ध्यान दिन जरुरी रहेको छ ।

  • १० श्रावण २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech