- गणेश राई ।
नेपालगन्जः बाँकेको खजुरास्थित गौघाटमा विगत ५ वर्षयता चौकीदारको रुपमा सेवा गर्दै आउनुभएका अस्विर खत्रिलाई क्यान्सर रोगले गलाएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ स्थित गौघाटका ६१ वर्षिय खत्रिलाई पित्त थौलिमा क्यान्सर भएपछि घरमै थलिनु भएको छ । घरको आर्थिक अवस्था कमजोर रहेको उहाँको परिवारमा घर धान्ने मान्छे नै क्यान्सर बाट थलिएपछि उपचारमा थप कठिनाई भएको छ । यसैपनि उमेर बुढौली हुँदै गएको छ भने रोगले पनि गलाउँदै लगेपछि परिवारमा बज्रपात परे झै भएको छ । अस्बिर यो बेला हिडडुल समेत गर्न नसस्ने अवस्थामा पुग्नु भएको छ ।
शरिरले काम नगर भनिसकेको छ । हट्टा कट्टा ज्यान लुखुरे भएको छ । क्यान्सरको पनि चौथो चरणमा पुगिसकेका अस्बिरको पछिल्ला समय झनै कष्टकर बन्दै छ । गाउँमा कुनै ठुलै काम गर्न परे सबैले अस्बिरलाई नै सम्झन्थे । दाउराको काम गर्न होस या सडक निर्माण गर्न अलि बलियो मान्छेका रुपमा चिनिनु भएको थियो अस्बिर ।
विस्तारै शरिरमा कमजोरी हुन थालेपछि अस्बिरले चेकजाँच गराउनुभयो । अन्ततः उहाँलाई क्यान्सर देखियो । घर र एक कट्ठा जमिन मात्रै रहेको उहाँले चाहेर पनि जमिन बेचेर उपचार गराउन सक्नु भएको छैन । अस्विरको तिन छोरी र एक छोरा छन् । अहिले उहाँको स्वास्थ्य झनै विग्रदै गएको छ । खजुरामा रहेको शुसिल कोइराला क्यान्सर अस्पतालमा सामान्य उपचार गराइरहेको अस्बिरले बताउनुभयो ।
विरामी अस्बिरको अवस्था नाजुक भएको महसुस गरेर गौघाटका स्थानिय युवाहरुले सहयोग अभियान संचालन गरि केहि रकम सहयोग गरेका छन । हाम्रो गौघाट हामी आफै बनाउ अभियानले अस्बिरको उपचारको लागि बचाउ अभियान संचालन गरेर आर्थिक सहयोग गरेका हुन । देश तथा विदेशमा रहने साथिहरु मिलेर अभियान मार्फत सहयोग गरिएको अभियानका संयोजक इन्द्र बहादुर खत्रिले जानकारी दिनुभयो।
अभियानबाट ५४ हजार ५३५ रुपैया संकलन गरि हस्तान्तरण गरिएको अभियानका सदस्य थमन वलिले जानकारी दिनुभयो। सिंगारु नाँच बाजा समुह जहाँ अस्बिरले पनि महिलाको पहिरनमा नाचँ देखाउने गर्दथे सोहि समुहबाट पनि सहयोग गरिएको थियो ।
बाजा समुहले १० हजार प्रदान गर्यो । हरित सृजना सामुदायिक बनले ५ हजार सहयोग हस्तान्तरण गर्यो । हस्तान्तरण कार्यक्रममा वडा नम्बर २ का वडा सदस्य लक्ष्य बहादुर वलि, समाजसेवी याम बहादुर महतरा, कर्ण बहादुर विसी लगाएतको उपस्थिती रहेको थियो ।