नेपालगन्जः भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष वीरेन्द्र बहादुर शाहलाई अस्पतालले आज स्वागत गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि शाहलाई हिजो अध्यक्षमा मनोनित गरेको थियो । आज अस्पतालमा आयोजित एक समारोहका बीच अध्यक्ष शाहलाई अस्पतालले स्वागत गरेको छ ।
स्वागत कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नवनियुक्त अध्यक्ष शाहलाई दलिय आँखाबाट माथि उठेर काम गर्न सुझाव दिनुभयो । उहाँले अस्पतालको विकासलाई प्राथमिकता दिएर काम गर्न पनि आग्रह गर्नुभयो । उहाँले अस्पतालको विकासमा उपमहानगरपालिकाले गर्न सक्ने पहलका लागि सधैं सकारात्मक रहेको पनि उल्लेख गर्नुभयो ।
यस्तै स्वागत कार्यक्रममा नवनियुक्त अध्यक्ष शाहले आफ्नो पहिलो प्राथमिकता अस्पतालको सेवालाई स्तरीय र गुणस्तरीय बनाउने रहेको बताउनुभयो । उहाँले समग्र अस्पतालको सेवालाई सुधार गर्दै सबै नागरिकलाई सहज र सरल तरिकाबाट सेवा प्रवाह गर्ने गरी आफुले काम गर्ने उल्लेख गर्नुभयो । उहाँले अस्पतालमा समस्या भएपनि त्यसको व्यवस्थापन गरिनु पर्ने भन्दै त्यसका लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकाल सकिदा अस्पताललाई यो भन्दा राम्रो बनाउने बिश्वास पनि दिलाउनु भयो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ फिजिसियन डा संकेत रिसालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा बिभागिय प्रमुखहरु, चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ लगायतले अध्यक्ष शाहलाई स्वागत गर्नुभएको थियो । गएको जेठ १२ गते प्रमोद धिताल नेतृत्वको समितिको पदावधि सकिएपछि अस्पताल विकास समिति पदाधिकारी विहीन थियो ।