नेपालगन्जः दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तार भएपछि बिरामीलाई सहज भएको छ । महँगो गाडि भाडा तिरेर नेपालगञ्ज, बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । बिरामीहरुले प्रतिष्ठानमा विस्तारित सेवाअन्तर्गत फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक, कान, घाँटी रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने गरेको बताइएको छ । प्रतिष्ठानमा विस्तारित सेवा (इएचएस) सुरु हुने भएको छ । विस्तारित सेवा प्राप्त गर्ने बिरामीहरुलाई लाइनमा लाग्नु नपर्ने र आफूले रोजेको चिकित्सकबाट उपचार सेवा प्राप्त गरेमा बिरामीहरु थप लाभान्वित हुने प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताउनुभयो ।
उहाँले विस्तारित सेवा प्रभावकारी हुने र चिकित्सकबाट विशेषज्ञ सेवा बिरामीहरुले दुर्त गतिमा पाउने बताउनुभयो । विस्तारित सेवा हरेक दिन दिउँसो १२ बजेपछि नाम दर्ता गरेर अस्पतालको टिकट काट्ने व्यवस्था मिलाइएको र १ बजेपछि बिरामीले सेवा पाउने छ्न । अस्पतालमा आउने बिरामीहरुले जनरल बाहेकको समयमा आफूले इच्छाएको र रोजेको चिकित्सकबाट उपचार सेवा दिने उद्देश्यले इएचएस सेवा सुरु हुन लागेको उपकुलपति डा. लामिछानेले जानकारी दिनुभयो । यसैगरी प्रतिष्ठानले पोषण पुनः स्थापना गृहबाट ४२ कुपोषित बिरामीलाई उपचार सेवा दिएको जनाइएको छ ।
२०७० सालमा रु ६० लाखको लागतमा दुईतले भवन बनाएर पाँच वर्ष आफैंले चलाएर २०७५ असार मसान्तमा नेपाल युथ फाउन्डेसनले हस्तान्तरण गरेपश्चात् सञ्चालनमा ल्याउने प्रयास गरिए पनि २०७८ पुस १ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा आएको हो । पोषण पुनःस्थापना गृहबाट साबिक राप्तीका दाङ, प्यूठान, सल्यान, रोल्पा र रुकुमका कुपोषित बिरामीको उपचार गरिएको जानकारी गराइएको छ । पोषण अधिकृत सर्जु बरालले हाल ६ शय्याबाट सेवा प्रदान गर्दै आएको जानकारी गराउँदै हालसम्म ४२ भर्ना भएकामा ३६ ‘डिस्चार्ज’ भएको र ६ उपचाररत रहँदा एक जनालाई भने ‘रिफर ’गरिएको बताउनुभयो ।
उहाँका अनुसार २०७८ को पुसमा एक, माघमा एक, फागुनमा सात, चैतमा आठ, वैशाखमा १०, जेठमा ८ असारको १४ गतेसम्म सातजना भर्ना भएकामा उपचारपछि ३६ डिस्चार्ज भएको जानकारी दिनुभयो । उपचारका लागि आउने बिरामीहरुलाई पोषण सुरक्षासहित आहार, औषधि, उपचार निःशुल्क, जाँच परीक्षण, चिकित्सकको निर्देशनअनुसार औषधि पनि हुने गरेको बताइएको छ ।
उपचारका लागि सबैभन्दा सल्यानबाट कुपोषित बिरामी आउने गरेको जानकारीसमेत गराइएको छ । उपकुलपति डा. लामिछानेले केन्द्रको मात्रै बजेटले उपचार सेवा सम्भव नहुने भन्दै सकेसम्म कुपोषण हुनै नदिने गरी समुदाय स्तरमा सचेतना बढाउने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिनुभयो ।