नेपालगन्जः बाँकेको राप्ती सोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको छ । भुगोलका हिसावले नेपालकै सबैभन्दा ठूलो गाउँपालिका रहेको राप्ती सोनारी तुलनात्मक रुपमा स्वास्थ्य क्षेत्रमा पछाडि छ । तर पालिकाको जनप्रतितिधि तथा स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर काम गरिरहेको छ ।
हाल सम्म नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विनियोजित बजेट मध्ये करिव ८० प्रतिशत कार्यक्रमहरु सम्पन्न भइसकेको राप्ती सोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो । पालिकाको निशर्तमा बिनियोजन रहेको बजेटबाट बा–आमा सरंक्षण कार्यक्रम अन्तर्गत पालिकाको ३ वटै वडाहरुमा एकीकृत बिशेषज्ञ स्वास्थ्य शिबिर संचालन गरिसकेका छ । जसबाट एक हजार जनालाई सेवा प्रबाह गरिएको पनि शाखा प्रमुख केसीले बताउनुभयो ।
पालिकाको निशर्त तर्फ विनियोजनमा रहेको बजेटबाट महिलाहरुको पाठेघर सम्बन्धि स्वास्थ्य शिबिर समेत गरिएको छ । उहाँले भन्नुभयो–‘पालिकाको पाँच स्थानमा संचालन गरि करिब एक जना महिलाहरुको पाठेघर सम्बन्धि रोगको उपचार सेवा प्रदान गरिएको छ । उक्त शिबिर मार्फत करिब १५ जना महिलाहरुको पाठेघर खस्ने समस्या निदान भएको छ भने चार जना महिलाहरुको पाठेघरको अपरेसन गरिएको छ । यसमा करिब दुई जना महिलाहरुको पाठेघरको मुखको क्यान्सर जांच गरि ६ जना महिलाहरुको क्यान्सर निदान गरिएको छ ।’
पालिकाले यो वर्षदेखि बाआमा सुरक्षा कार्यक्रम पनि सुरु गरेको छ । पालिकाको स्वास्थ्य सेवाको पहुँचदेखि बाहिर रहेका त्यस्ता जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ पालिकाका तीन वटा स्थानमा शिविर नै आयोजना गरी उनीहरुलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा प्रवाह गरिएको स्वास्थ्य शाखा प्रमुख केसीको भनाइ छ । राप्तीसोनारी गाउँपालिकाको कुसुम, नन्कुपुर र गुल्जरगौरीमा आयोजना गरिएको शिविरमा सयौं जेष्ठ नागरिकले सेवा प्राप्त गरेको पनि उहाँको भनाइ छ । भौगोलिक विकटताकाबीच पालिकाले कुनै पनि नागरिकहरु स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर नहुन भन्ने उद्देश्यका साथ स्वास्थ्य सेवाको दायरालाई फराकिलो पार्ने काम गरिहेको छ ।
पालिकाले १५ शैयाको अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै लगेको पनि जनाएको छ । यो अस्पतालबाट हुने सेवालाई सहज, सरल र गुणस्तरीय बनाइएको छ उनले भने अत्याधुनिक प्रयोगशालासँगै एक्स रे सेवालाई पनि यो वर्षदेखि प्रभावकारी बनाइएको छ । यहाँ दुई जना एमबीबीएस डाक्टरहरुको नेतृत्वमा स्वास्थ्य सेवा प्रवाह गर्ने काम भइरहेको छ । भौगोलिक विकटता स्वास्थ्य सेवाको पहुँच विस्तारमा बाधक बन्ने गरेको छ । सीमित स्रोत सधानकाबीच पनि राप्तीसोनारीमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधारका संकेतहरु देखिएका छन् । थारु समुदायमा जनस्वास्थ्य समस्याकारुपमा रहेको सिकलसेल एनिमिया तथा थालेसेमिया रोग नियन्त्रणका लागि पालिकाले सिकलसेल जाँच अभियाननै चलाएको छ ।
पालिकाका अध्यक्ष तप्प बहादुर पौडेलले बंशाणुगत सिकलसेल रोग नियन्त्रणका लागि पालिकाले पहिचानका लागि नमुना संकलन गर्ने, रोगीको पहिचान गर्ने र उनीको उपचार व्यवस्थापनमा सहजीकरण गर्ने काम गरिरहेको बताउनुभयो । राप्तीसोनारी गाउँपालिका थारु समुदाय बाहुल पालिका हो । सिकलसेलका बिरामीलाई सरकारले उपचार खर्च वाफत एक लाख रुपैयाँ दिने गरेको छ । तर यो रोग लागेका व्यक्तिहरुले जीवनभरी औषधि खानु पर्ने भएकाले एक लाख रुपैयाँले पुग्दैन । त्यही भएर पालिकाले आगामी वर्षदेखि रोगीहरुको निशुल्क स्वास्थ्य बीमा गर्ने योजना पालिकाले लिएको अध्यक्ष पौडेलको भनाइ छ ।
९ वटा वडा रहेको राप्तीसोनारीमा एउटा आधारभूत अस्पताल रहेको छ भने पाँच वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य केन्द्र र एउटा सामुदायिक स्वास्थ्य इकाई रहेको छ । यी स्वास्थ्य संस्थाबाट नागरिकहरुले स्वास्थ्य सेवा लिइरहेका छन् । राप्तीसोनारीमा ४३ जना स्वास्थ्य तर्फका स्थायी कर्मचारी छन् भने करार सेवामा कार्यरत डाक्टर, स्वास्थ्यकर्मीहरु तथा कार्यालय सहयोगीसहित थप ६४ जना कर्मचारी छन् । संघीय सरकारले चालू आर्थिक वर्षका लागि ४ करोड ८० लाख बजेट पठाएको थियो भने पालिका आफैले स्वास्थ्य शाखालाई ३ करोड ३० लाख बढी बजेट विनियोजन गरेको थियो ।