बिरामी खोज्दै घरघरमा पुग्ने डाक्टर

    • स्वास्थ्य पेज

  • ११ असार २०८०, सोमबार

नेपालगन्जः बिरामीहरु उपचारका लागि डाक्टर खोज्दै अस्पताल आउनु स्वभाविक हो । तर बाँकेमा भने डाक्टर नै बिरामी खोज्दै गाउँबस्ती पुगेका छन् । सर्पदंशको विगविगी बढ्न थालेपछि त्यस्ता बिरामीको पहिचान गर्न र सर्पदंशको उपचार भइसकेपछि ती बिरामीको अवस्था बुझ्न कन्सल्टेन्ट डाक्टर नै बिरामीको घरमा पुग्ने गरेका छन् ।

भेरी अस्पताल नेपालगन्जका सर्पदंश रोग विशेषज्ञ डा कृष्ण आचार्य गोमन सर्पको डसाइबाट बाँच्नु भएकी राप्तीसोनारी २ कचनापुरकी सीता चौधरीको घरमा पुग्नुभएको छ । भेरी अस्पतालदेखि करिव ३५ किलोमिटर टाढाको दूरीमा रहेको सीताको घरमा पुगेर उहाँले बिरामीको अवस्था बुझ्नुभयो र स्थानीयबासीसँग सर्पदंशको जोखिम र जोगिने उपायबारे सुझाउनुभयो ।

गाउँबाट सहर गएर अस्पतालका ओपिडी र क्लिनिकमा पैसा तिरेर चिकित्सक भेट्न मुश्किल पर्ने अवस्थामा डाक्टर आफै बिरामी खोज्न गाउँघरमा आउँदा गरिव तथा विपन्न समुदायका व्यक्तिहरु आश्चर्यमा परेका थिए । सर्पदंशबाट तंग्रीदै गर्नुभएकी सीता चौधरीले डाक्टर घरमै आएर आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताउनुभयो ।

डाक्टर नै गाउँघरमा आएर यसरी सचेतना फैलाउने काम गर्दा स्थानीय दिपबहादुर थारुको खुसीको सीमा नै रहेन । डा. आचार्य बिरामीको घरमा पुगेको यो पहिलो पटक हैन । विगत ६ बर्षदेखि उहाँ निरन्तर यसैगरी बिरामीको घरमा पुग्ने र छरछिमेकमा सर्पदंशबारे सचेतना फैलाउने काम गर्दै आउनुभएको छ ।

बर्खायाम सुरु भएसँगै सर्पदंशको विगविगी बढेको छ । भेरी अस्पतालमा दैनिक ४-५ जना सर्पदशंका बिरामी आइरहेका छन् । देशमा बर्सेनि ४० हजारलाई सर्पले डस्ने गर्छ । तीमध्ये ३ हजारको मृत्यु हुने गरेको अध्ययनले देखाउँछ । सर्पको डसाइबाट जोगिन झुल लगाएर सुत्ने, घर वरपरको झाडी सफाइ गर्न र रातीको समयमा घर बाहिर निस्कदा टर्च लिएर हिड्ने हो भने सर्पदंशबाट जोगिने चिकित्सकहरुको सुझाव छ ।

  • ११ असार २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech