नेपालगन्ज: नेपालगन्जमा जारी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम आज सकिएको छ । स्वास्थ्य संस्था तथा अस्पतालमा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार व्यवस्थापन गर्ने भन्ने विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत पार्ने उद्देश्यले तालिम आयोजना गरिएको थियो ।
स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजनामा भेरी अस्पतालमा आयोजित तीन दिने तालिमको समापन कार्यक्रममा बोल्दै भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.किर्तीपाल सुवेदीले सर्पदंशका अधिकांश बिरामीको स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले व्यवस्थापन गर्न नसक्दा दुर्घटना हुने गरेको भन्दै त्यो हुन नदिन यसखाले तालिमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।
यस्तै उहाँले लुम्बिनी प्रदेशका अधिकांश ठाउँमा यसको उपचार व्यवस्थापन सुरु गर्न सके उपचारमा हुने ढिलाई र ढिलाईले निम्त्याउने दुर्घटनाको न्युनिकरण गर्न सहज हुने बताउँनुभयो । गर्मीयामको सुरुवातसंगै सर्पदंशका बिरामी बढ्ने गर्छन् । र, उपचारका लागि स्वास्थ्य संस्था तथा अस्पतालहरुमा पुग्ने गर्छन् ।
जङ्गल क्षेत्रसंग जोडिएका बाँके, बर्दिया, दाङ, कैलाली, कंचनपुर लगायत तराईका २२ जिल्ला र सुर्खेत, डडेलधुरा, पाल्पा र सिन्धुली लगायतका पहाडी जिल्ला सर्पको जोखिममा पर्छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी भेरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, बर्दिया अस्पताल र लमही सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामी बढी आउने गरेका छन् ।
तालिममा नवलपरासी, रुपन्देही, कपिलबस्तु, बाँके, बर्दिया, दाङ र बर्दियाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृत, स्वास्थ्यकर्मी लयायतको सहभागीता थियो । तालिममा सर्पको पहिचानदेखि उपचार व्यवस्थापनसम्म जानकारी प्रवाह गरिएको स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवालीले जानकारी दिनुभयो ।