कोहलपुर: कोहलपुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण `फुड बास्केट´ वितरण गरेको छ । कोहलपुर नगरपालिकाको कार्यालयमा आज आयोजित कार्यक्रममा २१ जना बिरामीलाई पोषणयुक्त खाद्यान्नसहितको फुड बास्केट वितरण गरिएको हो । २० किलो चामल, २ किलो दाल, १ किलो भेजिटेवल तेल, साढे १ किलो बदाम, १ क्यारेट अण्डा र १ किलो सर्वोतम पिठो सहितको फुड बास्केट नगर उपप्रमुख संगीता सुवेदीले बिरामीलाई वितरण गर्नु भएको हो ।
स्थानीय तहले डिएस बिरामीलाई ६ महिना र डिआर बिरामीलाई २० महीनामा प्रतिव्यक्ति/ प्रति महीना ३ हजार रुपैयाँसम्मको फुड बास्केटको व्यवस्था गरेको छ । त्यसक्रममा नगर उपप्रमुख सुवेदीले स्वास्थ्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ । कुनैबेला भयावह र डरलाग्दो मानिने टिबि रोग पछिल्लो समय सामान्य बन्दै गएको भन्दै सचेतता अपनाउन भने जरुरी रहेको बताउनुभयो । उहाँले क्षयरोगका बिरामीहरुको पोषणमा सुधार ल्याई रोग निको हुने दर वृद्धि गर्न फुड बास्केट उपलब्ध गराइएको बताउनुभयो ।
यस्तै सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद बिश्वकर्माले कोहलपुर नगरपालिकालाई टिबि मुक्त गराउन पालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले टिबि रोग सरुवा रोग भएकाले बिरामी स्वमले सचेतता अपनाउनु पर्ने बताउनुभयो । बिरामीले नियमित औंषधिको सेवन गर्ने हो भने लक्षित समयमा कोहलपुर नगरपालिकाबाट टिबि निवारण हुने उहाँको भनाइ छ ।
यस्तै नगर स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले टिबीको औषधि नियमित खाइरहेका बिरामीको पोषणमा सुधार ल्याउन `फुड बास्केट´ वितरण गरिएको बताउनुभयो । रोगीहरुको रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकालाई उनीहरुलाई पोषणयुक्त खाद्यबस्तुको आवश्यकता पर्ने भएकाले पोषणयुक्त खाधवस्तुसहितको सामाग्री उपलब्ध गराइएको उहाँको भनाइ छ ।
स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने काम भइरहेको उहाँले बताउनुभयो । नेपाल सरकारले सन् २०५० सम्म नेपालबाट क्षयरोग निवारणको लक्ष्य लिएको छ । सोही अनुसार कोहलपुर नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको क्षयरोग संयोजक राजु केसीले जानकारी दिनुभयो ।