मातृशिशु भवन निर्माण साढे ६ बर्षदेखि अलपत्र

    • स्वास्थ्य पेज

  • ३१ जेष्ठ २०८०, बुधबार

नेपालगन्जः सेती प्रादेशिक अस्पतालमा मातृशिशु भवन निर्माणको काम अझै पूरा भएको छैन। निर्माण सुरु भएको पाँच वर्ष सात महिना वितिसक्दा पनि काम पूरा नभएको हो। निर्माण कम्पनीको लापरबाहीका कारण भवन निर्माणका लागि पटक–पटक म्याद थप्ने काम मात्र हुँदै आएको छ। अस्पताल भवनको अझै १५ प्रतिशत काम बाँकी छ। अन्तिम पटकका लागि भन्दै पुनः म्याद थप गरिएको छ। साढे ६ वर्षसम्म अस्पताल भवन निर्माणको काम पूरा नहुँदा उपचार सेवा प्रभावित बन्न पुगेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताउनुभयो। ‘साढे ६ वर्षसम्म भवन बनेर हस्तान्तरण भएको छैन। अस्पतालको ओपिडी भवन सडक क्षेत्राधिकारमा पर्दा भत्काउनु परेको छ,’ उहाँले भन्नुभयो, ‘नयाँ भवन कहिले सम्पन्न हुने हो त्यो थाहा छैन।’

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले सेती प्रादेशिक अस्पतालमा नयाँ भवन निर्माण गर्न थालेको जेठमा ५ वर्ष ७ महिना पूरा भइसकेको छ। तर, भवनको १५ प्रतिशत काम अझै बाँकी छ। २०७४ कार्तिक २८ गते ठेक्का सम्झौता हुँदा निर्माण कम्पनी रविना÷थेगिम जेभी, धनगढीले ३० महिना अर्थात २०७७ बैशाख २७ गते निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो।

निर्माण कम्पनीले अझै काम पूरा नगर्दा अधुरो भवनमै ओपिडी सेवा सुरु गरिएको छ। सो कम्पनीसँग १८ करोड ७४ लाख २८ हजार ५२९ रुपैयाँ ६५ पैसामा ठेक्का सम्झौता गरिएको थियो। २०७७ बैशाखदेखि पटक–पटक म्याद थप्दा पनि भवन निर्माणले पूर्णता पाउन सकेको छैन। तोकिएको समयभन्दा तेब्बर समय भइसक्दा पनि भवन निर्माणको काम अलपत्र छ। १५ प्रतिशत काम अझै बाँकी रहेको संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले बताउनुभयो ।

  • ३१ जेष्ठ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech