कोलेस्टोरल भन्नासाथ मान्छेहरु झस्किन्छन् । तर कोलेस्टोरल हाम्रो शरीरलाई आवश्यक तत्वमध्येमा पर्छ । खासमा कोलेस्टोरल हाम्रो कोषमा पाइने एक प्रकारको बोसो (लिपिड) पदार्थ हो । शरीरको प्रत्येक कोषको बाहिरी तह (सेल मेम्ब्रेन)को बनावटका लागि यो आवश्यक पर्छ । यो राम्रो कोलेस्टोरल हो ।
रगतको नलीहरूमा राम्ररी रक्तप्रवाह गर्न र शरीरका कोषहरूको बनोटमा कोलेस्टोरलको भूमिका र आवश्यकता हुन्छ । तर कोलेस्टोरलको मात्रा रगतमा चाहिनेभन्दा बढी भयो भने रगतको नली, कलेजो, मुटुमा जम्मा हुन्छ । विशेषगरी रगतको नलीमा यो जम्मा हुन्छ र रगतको नली साँघुरिएर रक्तप्रवाह राम्ररी नहुने र त्यसले गर्दा पक्षघात, हृदयघात र मुटु रोगको जोखिम बढ्न सक्छ ।
कोलेस्टोरल मुख्यतया दुई प्रकारका हुन्छन् । शरीरमा राम्रो काम गर्ने ‘एचडीएल कोलेस्टोरल’ र शरीरमा नराम्रो प्रभाव पार्न सक्ने नराम्रो ‘एलडीएल कोलेस्टोरल’ ।गुड कोलेस्टोरल जसलाई ‘एचडीएल’ भनिन्छ, त्यसले रगतको नलीमा बोसो जम्नबाट बचाउँछ ।
बढी भएको नराम्रो कोलेस्टोरललाई कलेजो मार्फत शरीरमा निष्क्रिय बनाइदिन्छ । शरीरका कोषहरूको बनोटको लागि गुड कोलेस्टोरल जरुरी हुन्छ ।यससँगै हाम्रो शरीरमा खराब कोलेस्टोरल पनि हुन्छ, जसलाई एलडीएल अर्थात् लो डेन्सिटीलिपोप्रोटिन भनिन्छ । यो कोलेस्टोरलले कोरोनरी धमनीमा बाधा गर्छ । कोरोनरी धमनीले मुटुको मांसपेशीमा रगत प्रवाह गर्छ । यो यस्तो कोलेस्टोरल हो, जुन मुटुरोग तथा हृदयघातको प्रमुख कारण मानिन्छ ।
शरीरमा जब यो कोलेस्टोरल बढ्दै जान्छ, झट्ट त्यस्तो कुनै संकेत देखिंदैन । सर्वसाधारणले अन्य रोग झैं यसलाई सजिलै पहिचान गर्न सक्दैनन् । त्यसैले कोलेस्टोरल बढ्दै गए पनि मान्छेले यसको नियन्त्रणका उपाय अपनाइरहेका हुँदैनन् ।त्यसो भए किन बढ्छ त कोलेस्टोरल ?
मोटोपन
मोटोपन भएका मान्छेमा बोसोको मात्रा बढी हुन्छ, जसले खराब कोलेस्टोरल पनि बढाउँछ । यद्यपि मोटोपन भएको सबैमा कोलेस्टोरल नै हुन्छ भन्ने चाहिं छैन ।
वंशाणुगत
वंशाणुगत कारणले पनि मान्छेमा खराब कोलेस्टोरल बढेको हुन सक्छ । यदि परिवारका कुनै सदस्यमा खराब कोलेस्टोरल उच्च छ भने सन्तानमा त्यो समस्या देखिन सक्छ ।
निष्क्रिय दिनचर्या
प्रायः निष्क्रिय बस्ने, शारीरिक काम नगर्ने र व्यायाम नगर्ने मान्छेमा कोलेस्टोरलको जोखिम बढी हुन्छ ।
उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्यामा
उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या भएकालाई पनि खराब कोलेस्टोरलको समस्या हुन सक्छ ।
रातो मासु, जंकफुड
कतिपय यस्ता खानपान हुन्छ, जसले कोलेस्टोरलको मात्रा बढाउन सक्छ । जस्तो, रातो मासु, जंकफुड, तारेको खानेकुराले यस्तो समस्या निम्त्याउँछ ।
जाँड, रक्सी र चुरोट
जाँड, रक्सी र चुरोट खानेहरुलाई कोलेस्टोरलको समस्या हुने उच्च भय हुन्छ ।