अटिजम भएका बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन लायन्सद्वारा इरिक्सा सहयोग

    • स्वास्थ्य पेज

  • २६ जेष्ठ २०८०, शुक्रबार

नेपालगन्ज : लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफले सरस्वती प्राथमिक विद्यालय नेपालगन्ज–९ लाई इरिक्सा सहयोग गरेको छ  । भेरी अस्पताल नेपालगन्जमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, क्लबका अध्यक्ष केशव न्यौपाने लगायत लायन्स लिडरहरूले विद्यालयका प्रतिनिधिलाई इरिक्सा हस्तान्तरण गर्नुभएको हो ।

त्यसक्रममा बोल्दै नगर प्रमुख विष्टले अटिजम भएकाबालबालिकाको समस्या र समस्या समाधानका लागि स्थानीय तहले खेल्न सक्ने भूमिकाबारे आफ्नो चासो रहेको बताउनुभयो । उहाँले अटिजम भएका बालबालिका केन्द्रित बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउँदै पूर्वाधारमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

क्लबमा आबद्ध भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाई र नेपालगन्ज मेडिकल कलेजमा कार्यरत बालरोग विशेषज्ञ डा.पियुष कनोडियाले अटिजम भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउन र घर छाड्न यातायातको समस्या रहेको थाहा पाएपछि क्लबले अग्रसरता लिएको बताउनुभयो। लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक २२५ का एनका इलेक्टेड गर्भनर मुकुट ढकालले लायन्स निरन्तर मानवीय सेवामा रहेको बताउनुभयो  ।

क्लबका अध्यक्ष न्यौपानेले ‘लायन्स फर पिपुल विथ अटिजम’ भन्ने मूल नाराका साथ आफूहरूले सहयोग गरेको र स्थानीय तहले कार्यक्रम बनाए त्यसमा साथ, सहयोग र समन्वयका लागि क्लब तयार रहेको बताउनुभयो । उहाँले करिब ४ लाख लागतमा इरिक्सा तयार गरेर विद्यालयलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो । क्लबका सचिव डा.राजेश केशर खनालले सञ्चालन गरेको कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष गोविन्द रेग्मी, लायन्स लिडर शेम शाक्य, मिना ढकाल लगायतको सहभागिता रहेको थियो ।
 

  • २६ जेष्ठ २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech