नेपालगन्जको तापक्रम ४० डिग्री, कहिले हुन्छ वर्षा ?

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०८०, सोमबार

नेपालगन्जः तराईका जिल्लामा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ । तातो हावा र लु लाग्न थालेपछि बाँकेसहित तराई मधेशका जिल्लाहरुमा विद्यालय बन्द गरिएको छ ।

सुदूरपश्चिमका केही स्थानमा गएराति र आज बिहान हल्का बदलीको अवस्था रहेकाले अन्य स्थानको तुलनामा कम गर्मी छ । तर कैलालीदेखि पूर्वका तराईका जिल्लामा पनि गर्मी अत्यधिक छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार नेपालगन्ज, रुपन्देहीको भैरहवा, चितवनको रामपुर, बाराको सिमरा र मोरङको विराटनगर लगायतका स्थानमा अधिकतम तापक्रम आज पनि चालिस हाराहारीमै रहने पूर्वानुमान छ ।

हिजो सबैभन्दा बढी गर्मी चितवनको रामपुरमा महसुस भएको थियो । रामपुरमा हिजो सबैभन्दा बढी अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस मापन गरिएको थियो । कैलालीको टीकापुर, बाँकेको नेपालगन्ज, सप्तरीको राजविराज र मोरङको विराटनगरमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन भएको थियो ।

मौसमविदले तराईका जिल्लाहरुमा गर्मीको अवस्था अझै केही दिन कायम रहने पूर्वानुमान गरेका छन् । मौसमविद झाका अनुसार तराई–मधेशका जिल्लाहरुमा तत्कालै गर्मी कम हुने सम्भावना देखिएको छैन । तराई–मधेशका जिल्लामा तत्काल पानी पार्ने नयाँ प्रणाली विकसित पनि भएको छैन ।

नेपालको भौगोलिक अवस्था अनुसार मे र जुन महिना बढी गर्मी हुने महिनाहरु हुन् । यी महिनामा पानी परेन अथवा बादल लागेन भने गर्मी अत्यधिक महसुस हुन्छ । गर्मी बढी हुँदा जमिन तात्छ । पानीका स्रोत धेरै भएका स्थानबाट बाफ उडेर बादल बन्ने र स्थानीयस्तरमा पानी पार्ने प्रणाली विकसित भएर वर्षा हुने, बादल लाग्ने हुन्छ । यस्तो वर्षा केही स्थानमा मात्र हुन्छ । अहिले केही दिनयता पानी नपरेकाले प्रि मनसुन अवधि नै सुक्खा छ । त्यसैले गर्मी बढिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनुसन १८ जेठदेखि १३ असोजसम्म रहने प्रक्षेपण सार्वजनिक गरेको थियो । २२ जेठ भइसक्दा पनि मनसुनी गतिविधि देखिएको छैन । विभागका मौसमविदहरुका अनुसार अझै एक हप्ता मनसुन भित्रिने सम्भावना छैन । मनसुनी रेखा अहिले श्रीलंकाको आकाशमाथि देखिएको छ । यो भारतको तल्लो भेग हुँदै नेपाल भित्रिन्छ । नेपालको पूर्वी भागबाट मनुसन भित्रिएर पश्चिमतिर फैलिन्छ ।

  • २२ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech