बाँकेको स्वास्थ्यकर्मीको टोलिले प्रदेशका स्वास्थ्यमन्त्री खनाललाई भेट्यो

    • स्वास्थ्य पेज

  • २२ जेष्ठ २०८०, सोमबार

भालुवाङ दाङः लुम्विनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य क्षेत्रको सुधारका निमित्त प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँके र नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाको टोलिसँग आज आफ्नै कार्यकक्षमा आयोजित भेटघाट कार्यक्रममा स्वास्थ्यमन्त्री खनालले प्रदेशका नागरिकको स्वास्थ्यका सवालमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।

उहाँले अन्य क्षेत्रको बजेट कटौती गरेर भएपनि स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो । ‘उपचार अभावमा कुनै पनि नागरिकको ज्यान जान नपरोस् भन्ने सवालमा सरकार गम्भीर छ उहाँले भन्नुभयो–‘अन्य क्षेत्रको बजेट कटौती गरेरै भएपनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएका छा्रैं ।’ उहाँले पछिल्लो समय नसर्ने रोगको प्रभाव बढी देखिएकाले त्यसप्रति स्वास्थ्य मन्त्रालय सचेत र गम्भीर रहेको पनि बताउनुभयो ।

‘पछिल्लो समय नसर्ने रोगका कारण मानिसहरुले मृत्युवरण गरेका तथ्य तथ्याङ्कहरु आइरहेका छन् उहाँले भन्नुभयो–‘यसबारेमा जनचेतना जगाउन आवश्यक छ । प्रदेश सरकारले नसर्ने रोगको बारेमा सचेतना फैलाउन विभिन्न कार्यक्रमहरु समुदायस्तरमा लैजाने गरी योजना बनाइरहेको छ ।’

टोलिले नेपालगन्जका २३ वटै वडामा खोप केन्द्रको भवन निर्माणका लागि बजेट उपलब्ध गराउन पनि स्वास्थ्यमन्त्री खनालको ध्यानाकर्षण गराइएको टोलिमा सहभागी जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो ।

त्यसैगरी नेपालगन्ज उपमहानगरपालिका–४ मा रहेको सहरी स्वास्थ्य प्रबर्धन केन्द्रको सेवालाई थप प्रभावकारी गराउन पनि मन्त्रीको ध्यानाकर्षण गराइएको छ । शहरी स्वास्थ्य प्रबर्धन केन्द्रलाई थप बजेट उपलब्ध गराएर यसको सेवालाई नागरिकमैत्री बनाउन पहल गरिदिन पनि टोलिले आग्रह गरेको जनस्वास्थ्य अधिकृत रोशनी पुनले जानकारी दिनुभयो । बाँकेको स्वास्थ्यकर्मीको टोलिले स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान दिन स्वास्थ्यमन्त्री खनाललाई सुझाव दिएको टोलिमा सहभागि जनस्वास्थ्य अधिकृत पुनले जानकारी दिनुभयो ।

  • २२ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech