डाक्टरको लाइसेन्स परीक्षामा उत्तीर्ण भएपछि रामजी रामले के लेख्नुभयो ?

    • स्वास्थ्य पेज

  • २० जेष्ठ २०८०, शनिबार

नेपालगन्जः रौतहटको गरिब परिवारमा जन्मेका रामजी रामले नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षा उत्तीर्ण गरेसँगै आधिकारिक रुपमा सिकेका चिकित्सा शास्त्रका गुणहरुको अभ्यास गर्ने अनुमती पाएँ भन्दै बिरामीका दुखहरुले लिने परीक्षामा पनि पास हुन पाउँ भन्ने इच्छा राख्नुभएको छ ।

अध्ययनका क्रममा विभिन्न समस्या र अप्ठ्याराहरुसँग जुधेका रामजीले शुक्रबार डाक्टरको लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुभएको हो । शुक्रबार लाइसेन्स परीक्षामा पास भएपछि रामजीले सामाजिक सञ्जाल फेसबुकमा अध्ययनका समयमा आफूलाई सहयोग गर्ने सबैलाई सम्झिनुभएको छ ।

‘आज नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास भएँ। परीक्षाको बेला आफ्नो खल्ती रित्याएर मलाई अध्यन गर्न सघाउनुहुने सम्पुर्ण दाताहरु, दृश्य अदृश्य रुपमा मलाई सिकाउनुहुने हाम्रा सम्पुर्ण गुरुहरु, बिरामीहरु, सम्पुर्णलाई यो सर्टिफिकेट चढाउँछु। आजदेखि अधिकारीक रुपले सिकेको चिकित्साशास्त्रको गुणहरुको अभ्यास गर्न पाउने अनुमती पाएँ। अब मेरा बिरामीका दुखहरुले लिने परीक्षाहरुमा पास हुन पाउ’ उहाँले लेख्नुभएको छ ।

काउन्सिलले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार लाइसेन्स परीक्षामा एमबीबीएस तर्फ ४० दशमलव ४९ र बिडीएस तर्फ २९ दशमलव ६१ प्रतिशत उत्तीर्ण भएका छन्। छात्रवृत्तिमा पढ्ने अवसर पाए पनि कलेजले विभिन्न शिर्षकमा लाखौं रकम माग गर्दै परीक्षाबाट बञ्चीत गराएका रामजीले विभिन्न अवरोधहरुलाई चिर्दै एक वर्षअघि एमबीबीएस पास गर्नुभएको थियो ।

 

  • २० जेष्ठ २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech