भ्रम
भ्रम भन्ने शब्दलाई अंग्रेजीमा ‘इलुजन’ भनिन्छ । यो एउटा मनोवैज्ञानिक अवस्थामा हुने अवधारणात्मक त्रुटि हो । हाम्रो इन्द्रीयले कुनै विषयवस्तुको जानकारी ग्रहण गर्दा सही जानकारी भए पनि दिमागले गलत अवधारणा बनाइदिँदा भ्रम उत्पन्न हुन्छ । भ्रममा कुनै वस्तु हुन्छ, जसलाई मनोवैज्ञानिक भाषामा ‘स्टिमुलस’ भनिन्छ । कुनै न कुनै स्टिमुलस वस्तु हुन्छ तर त्यसलाई हाम्रो सेन्सरी अर्गानले गलत अर्थ दिन्छ । उदाहरणका लागि अँध्यारोमा एउटा बुट्यान पनि बाघ जस्तो देखिन्छ, डोरी सर्प जस्तो लाग्छ । यो कुनै रोगको अवस्था होइन । क्षणिक भ्रम हो । वास्तविकता महसुस भएपछि ए–ए कुरा यस्तो रहेछ भन्ने लाग्छ । बेकार म तर्सिएको रहेछु भन्ने हुन्छ । यो जुनसुकै उमेर समूहका व्यक्तिलाई हुन सक्छ । सामान्य भएको हुनाले यसलाई मानसिक रोगसँग जोड्नु पर्दैन ।
मति भ्रम या मिथ्या भ्रमलाई अंग्रेजीमा ‘डेलुजन’ भनिन्छ । यस्तो अवस्थामा बिरामीले भनेको कुरा एकदमै साँचो हो जस्तो लाग्छ । उदाहरणका लागि एक जना बिरामीले आफ्नो शरीरमा प्रहरीले चिप्स फिट गरिदिएको छ, मैले बोलेको सबै कुरा हेर्छ, मेरो सुराकी गर्छ भनेर भन्दै हिँड्छ । ऊ बोल्दा एकदमै डराएर सतर्क भएर मात्र बोल्छ । आफ्नो कुरा भन्न खोज्दैन । किन यस्तो गरेको भनेर सोध्यो भने सबैलाई आत्तिँदै चुपचुप भन्छ । तर वास्तविकतामा त्यस्तो केही हुँदैन । ऊ शरीरमा चिप्स नै हाल्नुपर्ने त्यस्तो विशेष मान्छे पनि हुँदैन । तर उसलाई भने आफ्नो शरीरमा चिप्स हालेको छ भन्ने बलियो विश्वास हुन्छ । कसैले उसलाई होइन भन्ने प्रमाण नै दिए पनि स्वीकार्दैन । उसलाई चुनौती दिन खोज्ने हो भने झन् आक्रोशित भएर आक्रमण गर्ने अवस्थामा पुग्न सक्छ ।
‘डेलुजन’ शरीरको कुनै अंगमा समस्या भएर पनि आउने हुन्छ । जस्तो, ब्रेनमा ट्युमरहरू छ भने पनि यस्तो समस्या देखिन सक्छ । यस्तो अवस्थामा जुन रोगको कारणले मिथ्या भ्रम उत्पन्न भएको छ, उक्त रोग निको हुने हो भने मिथ्या भ्रम हराएर जान्छ । कडा खालको मानसिक रोगमा, म्यानिया, बायोपोलार डिसअर्डर र लागुपदार्थ दुव्र्यसनीमा समेत यो समस्या देखिन्छ । तर दुव्र्यसनी कम हुँदै जाँदा मिथ्या भ्रम पनि कम हुँदै जाने हुन्छ ।
मिथ्या आभास
मिथ्या आभासलाई अंग्रेजीमा ‘ह्यालुसिनेसन’ भनिन्छ । यो समस्या कडा खालको मानसिक रोगमा देखिन्छ । यो अवस्थामा दिमागले नभएको ‘स्टिमुलस’ देखाइदिन्छ । जस्तो, मान्छे कोही पनि छैन तर आवाज आए जस्तो लाग्ने हुन्छ । कतिपय बिरामी यस्तो अवस्थामा कानमा आवाज आयो भनेर कानको डाक्टरलाई समेत देखाउन पुग्छन् । कहिलेकाहीँ कानका चिकित्सकले त्यस्ता बिरामीलाई मनोचिकित्सककहाँ रेफर गरिदिएको भेटिएको छ ।
मिथ्या भ्रम र मिथ्या आभास मानसिक रोगको लक्षण हो । यी दुई समस्या लागुपदार्थको अत्यधिक प्रयोग गर्दा पनि देखिन्छ । कसैलाई लागुपदार्थ सेवन गरेर मिथ्या आभास भएको छ भने उक्त मान्छेले भित्ताभरि हात्ती हिँडेको देख्न सक्छ । मान्छेहरू आएर आफूलाई मार्न लागे भन्दै तर्सिने, कराउने, लुक्ने गर्छ । तर वास्तविकतामा त्यहाँ केही हुँदैन । रक्सी या लागुपदार्थ सेवन नगरुन्जेल उसको मानसिक अवस्था ठिक थियो तर त्यसको प्रयोग गर्न थालेपछि उसको कानमा मान्छेको आवाज आउने, गाली गर्ने र तर्साउने हुन्छ । त्यो आवाजसँग उसलाई झर्काे लाग्न थालेपछि उसमा डर थपिन्छ । कसैले यस्तो केही होइन, छैन भन्यो भने, मैले सुनेको छु, तैँले भनेर हुन्छ भन्ने खाले आक्रोशित अभिव्यक्ति दिन्छ ।
मिथ्या आभाषको अवस्थामा बिरामीले आत्महत्या गर्ने जोखिम उच्च हुन्छ । अन्य खाले अपराध गर्ने जोखिम पनि उत्तिकै रहन्छ ।
सामान्यतयाः मिथ्या भ्रम या मिथ्या आभास भएका मानिसलाई परिवारले ध्यान दिनुपर्छ । बिरामीको अवस्थाबारे बुझ्नु पर्छ । उसले सुनिरहेको या देखिरहेको छु भनेको कुरालाई होइन भनेर चुनौती दिनु हुँदैन । किनकी, त्यो अवस्थामा उसको मानसिक अवस्था सामान्य हुँदैन । त्यस्तो समयमा उसले भनेको कुरालाई सुनेर उसलाई के भएको हो भन्नेबारे बुझाउन कोसिस गर्नुपर्छ । त्यस समस्याको उपचार छ भन्नेतिर केन्द्रित हुनुपर्छ । उपचारपश्चात् चिकित्सकले दिएको औषधि आज खाएर भोलि नै निको हुँदैन । विस्तारै कम हुँदै जान्छ ।
यस्ता बिरामी मनोचिकित्सककहाँ आएपछि बिरामीको शरीरमा कुनै सिस्टममा गडबडी आएर समस्या भएको हो या लागुपदार्थ दुव्र्यसनको कारणले गर्दा भन्ने पत्ता लगाइन्छ । दुव्र्यसनको कारणले हो भने पहिले बिरामीलाई त्यो चिजबाट मुक्ति दिलाउनुपर्छ । त्यो बाहेक मानसिक स्वास्थ्य सम्बन्धी समस्या आयो भने औषधि सुरु गरिन्छ ।
यी समस्या कम हुने बित्तिकै औषधि बन्द गर्नु हुँदैन । त्यसपछि पनि त्यो कुन रोग (सिजोफ्रेनिया, बायोपोलार, म्यानिया, डिप्रेसन) मध्ये केको लक्षण हो भनेर पत्ता लगाउनुपर्छ । त्यसपछि कुन रोगको औषधि खानुपर्ने हो, त्यही खानुपर्छ । कतिपय अवस्थामा उपचार प्रक्रिया लामो समय जान सक्छ । कहिलेकाहीँ त्यस्ता बिरामीले म बिरामी नै होइन, म औषधि खान्न भन्ने र अस्पताल जान नमान्नेसम्मका अवस्था आइपर्छन् । त्यसकारण बिरामीका आफन्तले औषधि खुवाउने कुरामा ध्यान दिनुपर्छ ।
बिरामीले आफूलाई खुवाइने औषधिले हानि गर्छ भन्ने सोचेर औषधि लिएर जाने मान्छेप्रति निकै आक्रोशित व्यवहार देखाउँछ । औषधि खानुको विकल्प छैन भन्ने बिरामीले बुझेपछि ऊ औषधि खान तयार त हुन्छ, तर औषधि जिब्रोमुनि लुकाएर पछि फ्याल्नेसम्म गर्छ । त्यस कारण यसको उपचारमा निकै ध्यान दिनुपर्ने हुन्छ । परिवारका हरेक सदस्य यस्तो अवस्थामा सहयोगी हुनुपर्छ । बिरामीले भनेको कुरा होइन भनेर चुनौती दिनु हुँदैन ।