के तपाईं प्रायः थकित र सास फेर्न गाह्रो भएको महसुस गर्नुहुन्छ ? अनुहार पनि फुस्रो देखिन्छ ? नङ पनि कमजोर देखिन्छन् ?
यस्ता लक्षण देखिन्छन् भने शरीरमा आइरनको कमी भएको हुन सक्छ । आइरनको कमी विश्वव्यापी रुपमै सबैभन्दा सामान्य पोषण समस्यामध्ये एक हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा करिब ३० प्रतिशत मानिसलाई आइरनको कमी देखिन्छ ।
आइरन शरीरको लागि आवश्यक खनिजमध्ये एक हो । आइरनको कमीले शरीरका धेरै अंगलाई असर गर्छ । किनभने आइरन यस्तो आधारभूत तत्व हो, जसले शरीरलाई हेमोग्लोबिन बनाउन मद्दत गर्छ । हेमोग्लोबिन रातो रक्त कोषिकाहरुमा पाइने प्रोटिन हो । यसले फोक्सोबाट सम्पूर्ण शरीरका तन्तु र अंगहरूमा अक्सिजन पुर्याउँछ । शरीरमा आइरनको कमी भए हेमोग्लोबिनको मात्रा कम हुँदै जान्छ र तन्तुहरूमा अक्सिजन पुग्न कठिन हुन्छ । जसकारण स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँछ । त्यति मात्र नभई यसले गर्भावस्थाको समयमा बच्चाको स्वास्थ्यलाई असर गर्न सक्छ ।
रातो मासु, सागपात (त्यसमा पनि पालुंगो र रायोको साग), फलफूल, चुकन्दरमा प्रचुर मात्रामा आइरन पाइन्छ ।
आइरनको कमी हुनुको कारण
पौष्टिक तत्व पर्याप्त नखानु, आइरन खानु तर आन्द्रामा समस्या भएर वा प्रतिरोधात्मक क्षमता कम भएर शरीरले सोस्न नसक्नु, कुनै दुर्घटना वा रोगले अत्याधिक रक्तस्राव हुनु, महिनावारी हुँदा अत्यधिक रक्तश्राव भइरहनुजस्ता कारणले आइरनको कमी हुन जान्छ ।
यस्तै पेटमा जुका पर्दा, पेटमा घाउ खटिरा हुँदा, खानेकुरामै पोषणको कमी हुँदा रगतको मात्रा कम हुँदा शरीरमा आइरनको कमी हुन्छ ।
गर्भावस्थाको समयमा त अझ बढी आइरनको कमी हुन्छ, त्यसैकारण त्यस अवधिमा आइरन चक्की खान दिइन्छ । मिर्गौला र क्यान्सरको समस्या हुँदा पनि आइरनको कमी देखिन्छ ।
लक्षण
आइरनको कमी हुँदा सुरुमा अनुहार सेतो र फुस्रो देखिने, सास फेर्न कठिन हुने हुन्छ । त्यसैगरी थकान हुने, केही काम गर्न मन नलाग्ने हुँदै शारीरिक सक्रियता कम हुनु, अलिकति हिंड्नासाथ वा उकालो चढ्दा स्वाँ–स्वाँ हुनेजस्ता लक्षण आइरनको कमीले देखिन्छन् ।
परीक्षण तथा निदान
आइरनको कमी भएको लक्षण देखिएमा सबैभन्दा पहिले हेमोग्लोबिनको स्तरको जाँच गरिन्छ । त्यसपछि आइरनको कमीको लक्षण अनुसार उपचार गरिन्छ । सबैभन्दा पहिला त्यसको मुख्य कारण पत्ता लगाइन्छ । त्यसको कारणको उपचारसँगै आइरनको पनि पूर्ति गर्नुपर्छ । आइरनको कमीको मात्रा हेरेर औषधि चलाइन्छ । जुकाले हो भने जुका मार्ने औषधि गरिन्छ । कसैमा रगत नै चढाउन पर्ने पनि हुन सक्छ । त्यस्तै नसाबाट आइरन पनि दिन सकिन्छ ।
जटिलता
उपचार नहुँदा स्वास्थ्य समस्या थप जटिल बन्दै जान्छ । लामो समयसम्म आइरनको कमी भएमा हाई आउट कारियक फेलियरजस्ता मुटुको समस्या, रक्तअल्पता र कलेजोमा पनि खराबी देखिन सक्छ । त्यससँगै हेमोग्लोबिनको मात्रा घटेपछि अक्सिजन आवश्यक शरीरका भागमा पुग्दैन । अक्सिजनको मात्रा अपुग भएमा शरीरमा शारीरिक कार्य गर्ने शक्ति घट्दै जान्छ र हातखुट्टा विस्तारै निष्क्रिय हुँदै जान्छ ।
कस्तो अवस्थामा आइरन सप्लिमेन्ट ?
कतिपय अवस्थामा खानेकुराले मात्र शरीरले आइरन ग्रहण गर्न नसक्दा र बढी माग हुँदा चिकित्सकको परामर्शमा मात्रै आइरन सप्लिमेन्ट खानुपर्छ । त्यस्तै, गर्भावस्थामा शरीरमा आइरनको मात्रा कम हुन्छ, जसले गर्दा शरीरमा आइरनको मात्रा सन्तुलनमा राख्न र शिशुको विकासलाई समेत जरुरी हुँदा खानै पर्छ ।
तर नेपालजस्तो मुलुकमा बिना परीक्षण र परामर्श आइरनको कमी भएको शंका लागेमा मेडिकलबाट आइरन किनेर खाने प्रचलन छ, जुन विल्कुल गलत हो । आइरनको कमी हुँदा आइरनको मात्रा कति चाहिन्छ भन्ने पनि थाहा हुनुपर्छ, जुन चिकित्सकले कति मात्रामा खाने भनेर अड्कल गरेर दिन सक्छन् । तर जथाभावी किनेर खाँदा स्वास्थ्यलाई फाइदाभन्दा बढी हानि गर्छ ।