भेरी अस्पतालको नयाँ भवन हस्तान्तरणमा विलम्ब, सेवा प्रबाहमा समस्या

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०८०, सोमबार

नेपालगन्जः अस्पतालको इमर्जेन्सी, वार्ड तथा आइसियूमा बेड किन पाइन्न ? भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री चापागाइँलाई हामीले प्रश्न गर्दा उहाँ भन्नुहुन्छ- ‘मैले सबैभन्दा बढी सामना गर्ने प्रश्न नै यही हो ।’ अनि यो स्वभाविक पनि हो । किनभने इमर्जेन्सीको छेउमै निर्माण पूरा भएको जस्तो देखिने अस्पतालको चार तले नयाँ भवन छ ।

बिरामीका आफन्तहरु आक्रोसित भएर भन्ने गर्छन–‘इमर्जेन्सी वार्ड वा आइसियूमा बेड छैन भने नयाँ भवनमा बनाउनु पर्दैन ?किन खाली राखेको ? अस्पतालले किन चासो देखान्न ? ’ तर निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी प्रेरा सिएवी भिमेश्वर जेभीले भवन निर्माणको काम पूरा गर्न नसक्दा चाहेर पनि अस्पतालले विरामीको आक्रोसलाई न त मथ्थर पार्न सकेको छ न त विरामीको पीरमा मलम लगाउन सकेको छ ।

कोभिड महामारीपछि भेरी अस्पतालमा विरामीको चाप बढ्दै गएको छ । पछिल्ला दिनहरुमा त दैनिक ५ देखि ८ सयसम्म विरामी भेरी अस्पतालमा उपचार लिन आउने गरेका छन् । भेरी अस्पताल नेपाल सरकारको स्विकृत १०० शैया र अस्पताल बिकास समितिबाट थप ५० गरेर जम्मा १५० शैया क्षमतमा संचालित छ । तर पनि बिरामीको चाप र मागले गर्दा भौतिक गणना गर्दा १६२ बेड क्षमतामा संचालित छ ।

सरकारले ५०० बेड क्षमतामा स्तरोन्नती गर्न शैद्धान्तिक निर्णय गरिसके पनि न जनशक्ति स्विकृत भएको छ, न भौतिक पूर्वाधार तयार भैसकेको छ, न बिरामीको चाप र गर्नुपर्ने नि:शुल्कको अनुपातमा बजेट नै व्यवस्था हुन सकेको छ । ‘निर्माण सम्पन्न हुन लागिसकेको देखिने चार तल्ले भवन ठेकेदार र निर्माणको व्यवस्थापन गर्ने संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्ज कार्यालयबाट हस्तान्तरण हुन सकेको छैन ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चापागाइँ भन्नुहुन्छ–‘नयाँ भवनको निर्माण कार्य पूरा नहुँदा स्वभाविकरुपमा नागरिकले पाउने सेवामा प्रभाव परेको छ । तर तत्काल भर्ना गर्न नसके पनि कुनै उपाय नभएका बिरामीहरू केहि घन्टा\दिन इमर्जेन्सीमै राखेर भए पनि बेड खाली भएपछि उहाँहरूलाई ‘एडजस्ट’ गरिरहेका छौं ।’

२०७८ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरि आर्थिक वर्ष २०७४\७५ मा प्रेराले भवन निर्माणका लागि ३२ करोडको लागतमा ठेक्का सकारेको थियो । तर तीन पटक म्याद थप भइसक्यो । अहिलेसम्म निर्माण पूरा भएको छैन । पहिलो पटक म्याद थप गरि २०७९ भाद्र १५ सम्म र फेरी म्याद थप गरि मंसिर मसान्तसम्म र पुनः म्याद थप गरि फाल्गुन मसान्त सम्म हस्तान्तरण हुने भनिएपनि अहिलेसम्म अस्पताललाई भवन हस्तान्तरण हुन नसक्दा त्यसको मार विरामी सम्मले खेपिरहेका छन् ।

सवाल उक्त भवनको हस्तान्तरणसँग मात्र सिमित छैन। अस्पतालले हालको निर्माणाधीन स्थानमा इमर्जेन्सी स्थानान्तरण गर्ने योजना सहित साविकको इमर्जेन्सीको स्थानमा MRI जडान गर्न टेन्डर गरि सम्झौता समेत भैसकेको छ। असोज २०७९ मै जडान हुनु पर्ने 3T MRI साइट क्लियर नभएकै कारण हालसम्म आयात गरि जडान गर्न सकिएको छैन। साइट क्लियर भैसकेपछि पनि MRI  जडानको थप भौतिक पूर्व तयारी गर्न कम्तिमा २ महिना लाग्ने MRI आपुर्तिकर्ताबाट जानकारी प्राप्त भएको छ।

पश्चिम नेपालकै अत्याधुनिक उक्त मेशिन जडानको निम्ति ‌अस्पतालले Letter of Credit (LC) खोली पटकपटक सम्झौता र LC को म्याद थप्दै आएको छ। तर‌ बारम्बारको ताकेताको वाबजुद पनि ‌उक्त‌ भवन हस्तान्तरण नहुँदा इमरजेन्सी सार्न नसकि करीब २५ करोड लागतको MRI मेशिनकै भविष्य अन्यौलमा परेको अस्पतालको भनाइ छ ।

संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जका निमित्त आयोजना प्रमुख विजय केशर खनालले अहिलेसम्म भवन निर्माणको काम ९५ प्रतिशत पूरा भइसकेको र आउने असारमा भवन हस्तान्तरण गरिने जानकारी दिनुभयो । कोरोना महामारीका कारण निर्माणमा स्वभाविकरुपमा ढिलाई भएको हो उहाँले भन्नुभयो–‘अहिले काम द्रुतगतिमा भइरहेको छ असारमा अस्पताललाई हस्तान्तरण गरिन्छ ।’ उहाँले तल्लो तला अवको दुई हप्ताभित्रै हस्तान्तरण गरिने पनि जानकारी दिनुभयो ।

  • १ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech