नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका र बिचैमा खोप लगाउन छोडेका बच्चालाई आज खोप लगाइँदै छ । नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई खोप लगाउन लागिएको हो ।
‘खोज र खोप’ भन्ने अभियान सञ्चालन गरिएको नेपालगन्जमा ६ सय ९२ जनाले विचैमा खोप लगाउन छोडेको र १ सय ७७ जनाले कुनै पनि खोप नलगाएको पाइएको छ।
खोप लगाउन छुटेका सबै बालबालिकालाई आज खोप लगाउन लागिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो ।
नेपालगन्जमा हरेक महिनाको ६ देखि ११ गतेसम्ममा खोप सञ्चालन गर्ने गरिन्छ। यो अभियानमा १३ वटा रोगविरुद्ध नौ प्रकारका खोप लगाइन्छ। सबै प्रकारका खोप लगाउन छुटेका बच्चालाई जसरी पनि खोपमा समेट्न उपमहानगरपालिका लागि परेको छ।
नेपालगन्जमा लक्षित जनसंख्या कभर हुने तर धेरै बालबालिका खोपमा छुट्ने गरेको पाइन्छ। खोप लगाउन छुटेका बालबालिकाबाट बेलाबेलामा महामारी देखा पर्ने गरेको छ।
यसपाली घरधुरी सर्वेक्षण गरेर बीचैमा खोप लगाउन छोडेका, खोप नै नलगाएका तथ्यांक निकालिएपनि अझै धेरै बालबालिकालाई खोपमा समेट्न सकिएको छैन। जुन कुरालाई स्वास्थ्यकर्मीहरुले स्वीकार गरिरहेका छन्। मान्दै नमान्ने बच्चालाई हामीले कसरी खोप लगाउने ? स्वास्थ्यकर्मीको गुनासो रहने गरेको छ।