बर्दिया: ‘पूर्ण सरसफाइयुक्त पालिकाको अभियान, आ–आफ्नै पहलमा हात धुने स्थान’ भन्ने नारासहित बर्दियाको ठाकुरबाबा नगरपालिकालाई नेपालकै पहिलो पूर्ण हात धुने पालिका घोषणा गरिएको छ । ठाकुरबाबा नगरपालिकाभित्र रहेका सबै वडाका गाउँटोलका घरघरमा टुटीसहितको बाल्टी र साबुन राख्न लगाई यसअघि पूर्ण हात धुने वडा घोषणा गरिसकेपछि बिहीवार एक औपचारिक कार्यक्रमको आयोजना गरी पूर्ण हात धुने पालिका घोषणा गरिएको हो ।
ठाकुरबाबा–१ भुरीगाउँमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यद्वय जन्मजय तिमिल्सिना र कृष्णा कुष्मा थारु, जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्टलगायतको सहभागितामा नगरपालिकालाई नेपालकै पहिलो पूर्ण हात धुने पालिका घोषणा गरिएको नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।
विभिन्न प्रकारका सरुवा रोग र नसर्ने रोग अन्त्य गर्नका लागि सबै घरघरमा हात धुने ठाउँ बनाई पूर्ण हात धुने नेपालकै पहिलो नमुना पालिका घोषणा भएकाेमा ठाकुरबाबा नगरवासीलाई धन्यवाद दिँदै निरन्तरता दिनका लागि लुम्बिनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले आग्रह गर्नुभयो ।
२०७९ साल भदौ ५ गतेदेखि ठाकुरबाबामा सुरु गरिएको पूर्ण हात धुने अभियानअन्तर्गत सामुदायिक अभियानकर्ताहरूलाई प्रशिक्षण दिएर पालिकाका नौ वटै वडाका गाउँटोलका प्रत्येक घरमा टुटीसहितको बाल्टी र साबुन राख्न लगाई घरभित्र पस्दा, फोहोर वस्तु छुँदा, चर्पीको प्रयोगपछि र खाना खानुअघि साबुन पानीले मिचिमिची हात धुने बानी बसाल्न आग्रह गरिएको थियो ।
सामाजिक अभियन्ताहरूलाई खटाएर हात धुने ठाउँ बनाउँदा आइपर्ने चुनौती, नीति तथा कार्यविधिको अभाव, सर्वसाधारणमा हात धुँदा हुने फाइदाका बारेमा अनभिज्ञता, बालबालिका अपाङ्ग र लैङ्गिकमैत्री हात धुने ठाउँ र साबुन पानीको अभाव, स्रोतको अभाव र व्यवस्थापकीय अभावजस्ता पूर्ण हात धुने अभियान रणनीतिका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
‘समुन्नत ठाकुरबाबा सबल नगरवासी बनाउने उद्देश्यका साथ केही लक्ष्य तथा योजना बनाएको र त्यही लक्ष्य पूरा गर्नका लागि नगरपालिकाले विभिन्न दातृ सङ्घ–संस्थासँग सहकार्य गर्दै अगाडि बढेकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा पनि उदाहरणीय काम गर्ने अभियान सुरु गरेका छौँ । यसमा सबै नगरवासीकाे साथको पनि अपेक्षा राखेका छाैँ’, मेयर लम्सालले भन्नुभयो ।
गेरुवा ग्रामीण जागरण सङ्घ बर्दिया र तेर दे जोम्ससँगको सहकार्यमा ठाकुरबाबामा झन्डै नाै महिनाअघि देखि पूर्ण हात धुने अभियान सञ्चालन भइरहेकोमा अनुगमनका क्रममा पालिकाभित्रका ११ हजार एक सय १५ घरधुरीमा सतप्रतिशत हात धुने ठाउँ निर्माण गरिएको पाइएको गेरुवा ग्रामीण जागरण सङ्घका सरसफाइ अधिकृत मनोज पौडेलले बताउनुभयो ।
पूर्ण हात धुने अभियानलाई सफल बनाउन पालिकाभित्रका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, बडघर, विद्यार्थी, शिक्षक र स्थानीय सामुदायिक अभियानकर्ताहरू खटिएका थिए ।
फोहर हातको माध्यमबाट लाग्न सक्ने रोगको रोकथामका लागि घरघरमा टुटी र ढक्कनसहितको हात धुने ठाउँ बनाउन उपयुक्त हुने निष्कर्ष निस्किएसँगै नगरस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिसँग छलफल गरेर पालिकाभरि नै हात धुने कार्यलाई अभियानको रूपमा सञ्चालन गरिएको गेरुवा ग्रामीण जागरण सङ्घका कार्यकारी निर्देशक हरि सुवेदीले बताउनुभयो ।