गर्मीयाममा किन बढी लाग्छ झाडापखाला ?

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०८०, बुधबार

गर्मी मौसम सुरु भएसँगै झाडापखालाले धेरैलाई सताउँछ । उच्च तापक्रमका कारण खाना र पानी छिट्टै दूषित हुने हुँदा जाडोको तुलनामा गर्मीमा झाडापखाला बढी लाग्ने सम्भावना हुन्छ ।

गुणस्तरहीन पानी उपभोग गर्दा त्यसमा भएको सूक्ष्म जीवाणु शरीरभित्र प्रवेश गर्छन् । जसले हैजा फैलाउने सम्भावना अधिक हुन्छ । परिवर्तित जीवनशैलीका कारण पनि झाडापखाला बढी लागेको देखिन्छ । अहिले घरदेखि घरदेखि विद्यालय, कार्यालय, पसल, रेस्टुरेन्टमा किनेको पानी नै प्रयोग हुन्छ । यस्तो पानीको गुणस्तरबारे बेलाबेला प्रश्न उठिरहेको हुन्छ । यदि गुणस्तरहीन पानी प्रयोग भएको रहेछ भन्ने त्यसले धेरैलाई झाडापखाला लाग्न सक्छ ।

झाडापखाला लाग्ने मुख्य कारण भान्सामा सडेगलेका वस्तुहरु प्रयोग गर्नु, शरीरको आवश्यकता भन्दा बढी चिल्लो खानेकुरा खानु, राम्ररी सफा नगरेको वा फोहोर खाना खाँदा प्रदूषित पानी पिउनु तथा भोजनको मिश्रण गुण विपरीत धेरै कुरा मिसाएर एकैपटक खानु लगायत हुन् । यसैगरी कुनै काम गरेपछि, दिसा पिसाब गरेपछि राम्ररी हात नधोई खाना खाँदा पनि झाडापखाला लाग्ने सम्भावना धेरै हुन्छ ।

घरेलु उपचार

झाडापखाला लाग्नासाथ एक लिटर सफा पानीमा जीवनजल राखी पटक–पटक पिउने, प्रशस्त मात्रामा झोल कुरा खाने, सजिलै पच्ने खानेकुरा थोरै–थोरै गरी खाइरहने र व्यक्तिगत सरसफाइमा ध्यान दिने गर्नुपर्छ ।

झाडापखाला लागेमा आफैं जथाभावी औषधि किनेर खानुहुँदैन चिकित्सकको सल्लाह लिनुपर्छ ।

कस्तो अवस्थमा अस्पताल लाने ?

घरेलु उपचार गरेको दुई-तीन दिनसम्म पनि झाडापखाला नरोकिएमा, धेरै पातलो दिसा गएमा, निरन्तर बान्ता भएमा, घण्टैपिच्छे पखाला लागेमा, ज्यादै तिर्खा लाग्दा पनि पानी पिउन नसकेमा, ज्वरो आएमा, रक्तचाप कम भएमा, दिसामा रगत देखिएमा अस्पताल गइहाल्नुपर्छ ।

रोकथाम

जार वा धाराको पानी फिल्टर गरेर वा उमालेर मात्रै पिउने, पानीमा पियूष हालेर उपभोग गर्ने, प्रशस्त मात्रामा झोलिलो खानेकुरा जस्तै, दालको झोल, तरकारी (मसला कम भएको) गेडागुडीको झोल, केरा, माछामासु, फलफूलको रस, दूधबिनाको चिया, सादा पानी प्रशस्त मात्रामा खानुपर्छ ।

झाडापखाला लाग्दा पानी पिउन नदिने समाजमा गलत धारणा छ, जसले गर्दा खेर गएको पानी आपूर्ति नभई जलवियोजन हुन्छ । झाडापखालाबाट खेर गएको लवण, पोषक तत्व र पानी क्षतिपूर्ति गर्न पुनर्जलीय झोल बनाएर खुवाउनुपर्छ ।

  • १३ बैशाख २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech