खोप लिन छुटेका बालबालिकालाई ६ गते खोप लगाइने

    • स्वास्थ्य पेज

  • ४ बैशाख २०८०, सोमबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका ६ का खोप लिन छुटेका बालबालिकालाई यही ६ गते खोप लगाइने भएको छ । घरधुरी सर्वेक्षणका क्रममा उमेर पुगेका ३२ जना बालबालिकाले लिनु पर्ने नियमित खोप नलिएको पाइएपछि उनीहरुलाई खोप लगाइने भएको शहरी स्वास्थ्य केन्द्रका प्रमुख नवराज आचार्यले जानकारी दिनुभयो ।

खोप लिन छुटेका १६ देखि ५९ महिनाका बालबालिका छन् । शहरी स्वास्थ्य केन्द्रको आयोजना, नेपालगन्ज उपमहानगरपालिकाको समन्वय र वडा कार्यालयको सहयोगमा आज आयोजित पूर्ण खोप दिगोपनाको लागि सरोकारवालाहरुसँगको एक दिने अन्तरक्रिया कार्यक्रममा खोपको आवश्यकता, महत्वका बारेमा समेत जानकारी गराइएको थियो ।

खोप लिन छुटेका बालबालिकाका अभिभावक, खोप समन्वय समितिका पदाधिकारी, जनप्रतिनिधि, विद्यालयका प्रअ, स्वास्थ्य स्वयमसेविका, आमा समूह, किशोरी समूह, बाल क्लवका प्रतिनिधिहरु सम्मेलित अन्तरक्रियामा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतले पूर्ण खोप दिगोपनाका लागि खोप लगाउन जरुरी रहेको बताउनुभयो ।

उहाँले उमेर पुगेका कुनैपनि बालबालिका नियमित खोपबाट बञ्चित हुनु नपरोस् भनेर उपमहानगरपालिकाले खोज र खोप अभियाननै चलाएको पनि उल्लेख गर्नुभयो । त्यसको आधारमा छुटेका बालबालिकालाई खोप लगाउन लागिएको उहाँको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै वडा अध्यक्ष समिरप्रताप सिंहले नियमित खोप लगाउन बालबालिकाका अभिभावकहरुलाई आग्रह गर्नुभयो । खोप नलगाएकै कारण पछिल्लो पटक नेपालगन्जमा दादुरा महामारी फैलिएको भन्दै यस्ता महामारी रोक्न र बालबालिकालाई सुरक्षित राख्न खोप जरुरी रहेको उहाँको भनाइ छ ।

  • ४ बैशाख २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech