नेपालगन्जः लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा अजयमान श्रेष्ठलाई नियुक्त गरेको छ । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बुटवल उपमहानगरपालिका–५ अमरपथ निवासी श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
श्रेष्ठ रुपन्देही उद्योग संघको वरिष्ठ उपाध्यक्ष र महासचिव भएर काम गरिसकेका व्यक्ति हुनुहुन्छ । लुम्बिनी बाणिज्य क्याम्पस बुटवलको पूर्वप्राध्यापक रहेका श्रेष्ठ रेडक्रस र परिवार नियोजन संघमा आजीवन सदस्य रहनु भएको छ भने रोटरी क्लव अफ बुटवलका पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।
अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएपछि बुटवल श्रेष्ठले अस्पतालको कुशल व्यवस्थापनमा आफ्नो मुख्य ध्यान रहने बताउनुभयो ।
त्यस्तै आइतबारको मन्त्रिपरिषद बैठकले अस्पताल विकास समिति सदस्यमा लक्ष्मी खनाललाई नियुक्ति गर्ने निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिनुभयो ।
यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा अस्पताल विकास समितिको अध्यक्षमा सूर्यबहादुर भट्टराई नियुक्त हुनुभएको थियो । त्यसपछि माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री भएपछि भट्टराईको नियुक्ति खारेज गर्नुभएको थियो भने अध्यक्ष पद लामो समय रिक्त थियो ।