बिरामीका परिवारलाई क्षतिपूर्ति दिन प्रत्यारोपण केन्द्रले माग्यो २० लाख

    • स्वास्थ्य पेज

  • ३० चैत्र २०७९, बिहीबार

नेपालगन्ज: भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कलेजो प्रत्यारोपणका क्रममा मृत्यु भएका बिरामीको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रकम माग गरेको छ ।

केन्द्रले क्षतिपूर्ति दिनका लागि अस्पताल विकास समितिसँग रकम नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग २० लाख क्षतिपूर्ति माग गरेको हो । केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले १९ चैतमा मन्त्रालयलाई पत्र पठाउँदै २० लाख रुपैयाँ उपलब्ध गराउन भन्नुभएको छ ।

काभ्रेका कुमार लामाको कलेजो प्रत्यारोपणका क्रममा गत असार २२ गते मृत्यु भएको थियो । लामाका लागि मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कलेजो लिइएको थियो । केन्द्रका निर्देशक डा. श्रेष्ठका अनुसार अप्रेशनको क्रममा बिरामीको मृत्यु भएको र आफन्त पक्षले अस्पताल नै घेराबन्दी गरेपछि ज्यान जोगाउनै मुस्किल भएकाले सहमति अनुसार केन्द्रले क्षतिपूर्ति २० लाख उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

डा. पुकारले मन्त्रालयमा पठाएको पत्रमा मृतकका परिवार पक्षबीच असार २२ गते मध्यराति भएको सम्झौता अनुसार क्षतिपूर्ति वापतको २० लाख रुपैयाँ उपलब्ध गराउन भनिएको छ । मानव अंग प्रत्यारोपण विकास समितिको गत भदौ २४ गते बैठक सम्झौता अनुसार मृतकका परिवारलाई रकम उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा पत्र पठाउने निर्णय गरेको थियो ।

तर, अर्थले उक्त विषय अर्थ मन्त्रालयभन्दा बाहिरको विषय भएको भनी पत्र फिर्ता पठाएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयले केन्द्रकै विकास समितिबाट निर्णय गरी विकास समितिकै कोषबाट क्षतिपूर्ति उपलब्ध गराउन केन्द्रलाई पत्र पठाएको थियो । स्वास्थ्य मन्त्रालयको उक्त पत्र पछि केन्द्रले पुन मन्त्रालयमा पठाउँदै रकम उपलब्ध गराउन भनेको हो ।

  • ३० चैत्र २०७९, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech