नेपालगन्जः पश्चिम नेपालका थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया नियन्त्रणका लागि बाँकेको कोहलपुर नगरपालिकाले गर्भवती र ९ महिनाका बालबालिकाको अनिवार्य सिकलसेल जाँच गर्न सुरु गरेको छ । बंशाणुगत यो रोगको समयमै पहिचान गरी त्यसको नियन्त्रणका लागि गर्भवती र ९ महिनाका बालबालिकामा रगत परीक्षण गरेर सिकलसेल जाँच गर्न सुरु गरिएको हो ।
कोहलपुर नगरपालिकामा थारु समुदाय सँगसँगै अन्य समुदायहरुमा समेत सिकलसेल एनिमिया देखा परेको छ । सिकलसेलको चेन ब्रेक गर्नका लागि गर्भवती र ९ महिनाका बालबालिकामा सिकलसेल जाँच अनिवार्य गरिएको सिकलसेल एनिमिया प्रयोगशालाका ल्याब प्रमुख शिव गौतमले जानकारी दिनुभयो ।
९ महिनामा दादुरा खोप लगाएपछि ती बालबालिकाको सिकलसेल जाँच गरिने छ भने गर्भवतीको हकमा भने गर्व रहेको ६-७ महिनामा सिकलसेल जाँच अनिवार्य गर्ने गरी पालिकाका १५ वटै वडामा अभियान सुरु गरिएको पनि गौतमले बताउनुभयो । गौतमका अनुसार पहिलेको तुलनामा अहिले सिकलसेल परीक्षण दर बृद्धि भएको छ । अहिले १५ हजार भन्दा बढिको सिकलसेल एनिमियाको टेष्ट भइसकेको छ ।करिब २० जना भन्दा बढि गर्भवती महिलाले समेत सिकलसेल जाँच गरिसकेका छन् । अहिले दैनिक रुपमा प्रयोगशालामा आएर पनि थारु समुदाय तथा अन्य समुदायहरुले पनि सिकलसेल जाँच गर्नेक्रम बढेको गौतमले बताउनुभयो । पश्चिम नेपालका विशेषगरी थारु समुदायमा कहालीलाग्दो अवस्थामा रहेको सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि विज्ञ समेत रहनुभएका भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले आफै खटिएर जनेचतनामुलक कार्यक्रम प्रवाह गर्दै आउनुभएको छ ।
डा.पाण्डेकै प्रयासमा कोहलपुर नगरपालिकाले सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि गर्भवती तथा ९ महिनाका बालबालिकाको सिकलसेल परीक्षण सुरु गरिएको हो । विवाहपूर्व रगत जाँच गरेर मात्रै विवाह गर्ने, नौ महिनाको बच्चालाई दादुराको खोप लगाउन आउँदा (Hemogobin electrophoresis) जाँच गर्ने, गर्भवती महिलालाई (Hemogobin electrophoresis) जाँच गर्ने, सबैको रेकर्ड राखेर काम गर्दा सिकलसेल र थालेसिमिया रोग नियन्त्रण गर्न सकिने डा.पाण्डेको सुझाव छ ।’सिकलसेल एनिमियाथारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल र थालेसिमिया रोगलाई नियन्त्रणका लागि विवाहपूर्व जन्मकुण्डली मिलाउदेखि नौ महिनामै बच्चालाई जाँच गर्नेसम्मका काम गर्न सकियो भने यसलाई नियन्त्रणमा लिन सकिन्छ वा भावी पुस्तालाई सिकलसेल र थालेसिमियाबाट जोगाउन सकिन्छ’ डा. पाण्डेको भनाइ छ । उहाँ अगाडि थप्नु हुन्छ-‘त्यसको प्रयास स्थानीय तहबाट हुनु निकै सकरात्क कुरा हो । जस्तो विवाह गर्दा चिना हेर्ने चलन छ । यदी एउटै गोत्र भयो भने विहेवारी हुँदैन । थारू समुदायमा भने रगतजाँच गर्नुपर्ने भएको छ ।’
सन्तान, दर सन्तानलाई सिकलसेल र थालेसिमियाबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै कुण्डली मिलाउनु पर्ने भएको छ । त्यसो गर्न सकियो भने सिकलसेल र थालेसिमिया रोग नियन्त्रणमा आउँछ । र, भावी पुस्तालाई सिकलसेल र थालेसिमियाबाट जोगाउन सकिन्छ । सिकलसेल वा थालेसिमियाको सन्तती नजन्माउनका लागि वर वा बधु मध्ये एक जना सामान्य (निरोगी) हुन आवश्यक छ । सिकलसेल वा थालेसिमियाको रोगीले पनि सामान्य व्यक्तिसँग विवाह गर्दा सन्ततीहरु रोगी हुदैनन् । रगत जाँचेर (Hemogobin electrophoresis) चित्रमा देखाइए जस्तो कुण्डली मिलाएर विवाह गर्दा यो वंशाणुगत रोग नियन्त्रणमा आउँछ ।
कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुवेदीले थारु समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनिमिया तथा थालेसेमिया रोग नियन्त्रणका लागि पालिकाले प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिनुभयो । उहाँले विशेषगरी थारु समुदायमा देखिएको यो रोग नियन्त्रणका लागि आफ्नो परीक्षण गराउन पनि सबै थारु समुदायलाई आव्हान गर्नुभएको छ ।