कोहलपुर–१२ मा प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ शिविरमा २२८ जनाले सेवा लिए

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०७९, शनिबार

कोहलपुरः कोहलपुर नगरपालिका–१२ आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको प्रजनन स्वास्थ्य रुग्णताको स्क्रिनिङ तथा व्यवस्थापन सम्वन्धी शिविरमा २ सय २८ जना महिलाले सेवा लिएका छन् ।

स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचानगरी उपचारमा सहजता ल्याउने उद्देश्यका साथ कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाले शिविर आयोजना गरेको हो । शिविरमा सेवा लिएकामध्ये २ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीलाई रिफर गरिएको शाखाका नर्सिङ फोकल पर्सन लोकमाया भारतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य २ जना महिलाको वायोस्पी गरिएको छ । १ सय २७ जना महिलामा सेतो पानी वग्नेलगायतको समस्या देखिएकाले औषधि दिएर पठाइएको पनि भारतीले बताउनुभयो । शिविरमा पाठेघरको मुखको क्यान्सरको चेकजाँच र उपचार, स्तन क्यान्सर, आङखस्ने समस्या, बाँझोपन र दिसापिसाब चुहिरहने रोगको चेकजाँच तथा उपचार सेवा प्रवाह गरिएको थियो ।

सम्भव हुने केशमा प्रारम्भिक उपचार शिविरमै गरिएको र जटिल खालको समस्या देखिएकालाई शल्यक्रियाका लागि रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख अनिलसेन ठकुरीले जानकारी दिनुभयो । शिविरको कोहलपुर नगर उपप्रमुख संगिता सुवेदी र मेडिकल कलेज कोहलपुरमा कार्यरत बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.दुर्गा बिसीले हिमा कुमारी पुनलाई पर्चा हस्तान्तरण गरेर उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रमुख सुवेदीले अस्पतालका पहुँच भन्दा बाहिर रहेका महिलाहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउन घरदैलोमा शिविर गरिएको बताउनुभयो । कोहलपुर नगरपालिका भएपनि आफुहरुले नगरभित्रका दुर्गम वडाका महिलाहरुको स्वास्थ्यमा पहुँच स्थापित गर्नका निमित्त शिविर आयोजना गरिएको जानकारी दिनुभयो ।

कोहलपुर नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताउनुभयो । कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक इश्वरी विकले कुनै पनि महिलाहरु रोग लुकाएर पीडादायिक जीवनयापन गर्न नपरोस् भन्ने उद्देश्यले यो शिविर आयोजना गरिएको भन्दै महिलामा जटिल समस्याको रुपमा रहेको पाठेघर, स्तन क्यान्सरजस्ता रोगको समयमै पहिचान गरि उपचारमा सहजता ल्याउन शिविरले ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले पाठेघरमा आउने समस्याको सहि समयमा पहिचान नभए यसको विकसितरुपनै क्यान्सर भएकाले घरदैलोमा हुने शिविरको लाभ लिन आग्रह समेत गर्नुभएको थियो ।

यस्तै वडा अध्यक्ष वीरेन्द्र बहादुर शाहले उपचारको पहुँच भन्दा बाहिर रहेका महिलाहरुले आफ्नै घरआँगनमा सेवा पाउनु ठूलो उपलब्धी भएको बताउनुभयो । बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.दुर्गा विसीले यस्ता शिविरले पछि हुने समस्याको समयमै पहिचान गरी उपचार गर्न सहज हुने बताउनुभयो ।

उहाँले उपचार भन्दा पनि रोकथामको पहल गर्न पालिकालाई आग्रह गर्नुभयो । उहाँले त्यसका लागि उपचारमुलक कार्यक्रम भन्दा जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउन सुझाव दिनुभयो । महिलाहरु लाज र डरका कारण पाठेघर समस्याबारे खुल्न चाहादैनन् । तर जटिल भइसकेपछि उपचारका लागि अस्पताल पुग्दा उनीहरुको ज्यानै जोखिममा पर्ने गरेको छ ।

  • २५ चैत्र २०७९, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech